बाँके । पश्चिमी वायु सक्रिय भएर वर्षा भएपछि मध्य तथा सुदूरपश्चिमका जिल्लाहरुमा हिमपात भएको छ । सुदूरपश्चिमबाट मध्य क्षेत्रतिर सरेको पश्चिमी वायुको प्रभावले दिनभरजसो पानी परेको मौसम विज्ञान विभागले जनाएको छ ।
मौसममा आएको बदलीका कारण प्रदेश नं. ६ र ७ का उच्च पहाडी तथा हिमाली जिल्लाहरुमा हिमपात भएको छ । उच्च भेगमा हिमपात भएसँगै अत्यधिक चिसो बढेको छ । मंगलवार राति पानी परेसँगै बिहानदेखि हिमपात सुरु भएको हो । उच्च लेकाली भागमा एक दुईदिन हिमपात जारी रहने मौसम विभागले जनाएको छ ।
हिउँ जमेको र जाडो बढ्न थालेकाले घर बाहिरको काम गर्न समस्या हुन थालेको स्थानीयले बताएका छन् । एक्कासी बढेको चिसोका कारण वृद्धवृद्धा, बालबालिका तथा गरिखाने वर्ग बढी प्रभावित भएका छन् । विभागका अनुसार हाल मध्य तथा पश्चिम क्षेत्रमा पानी पर्नुका साथै उच्च हिमाली क्षेत्रहरुमा हिमपात भइरहेको छ ।
मध्य क्षेत्रमा सक्रिय पश्चिमी वायु क्रमशः पूर्वतर्फ सरिरहेकाले मौसममा बदली भएको हो । पूर्वमा भने भोलि पानी पर्ने सम्भावना छ । मंगलबार देशको सुदूरपश्चिमबाट पश्चिमी न्यूनचापीय वायु नेपाल प्रवेश गरेको हो । मौसमविदहरुका अनुसार यो वर्षालाई हिँउदे वर्षा भनिन्छ । यस वर्ष केही समय ढिला गरेर पानी परेको हो ।
गत साल पुस १० गतेको आसपास हिँउदे वर्षा भएकोमा यस पटक पोहोरभन्दा एक महिना ढिलो गरी पानी परेको छ । यो वर्षाले किसानलाई राहत मिलेको छ । हिमाली तथा उच्च पहाडी क्षेत्रमा भएको हिमपातले त्यहाँका कृषकहरु बाली सप्रने आशामा खुसी देखिएका छन् । विभागले उपलब्ध गराएको तथ्यांक अनुसार डडेल्धुरामा सबैभन्दा बढी १२ मिलीमिटर पानी परेको छ ।
पछिल्लो २४ घन्टामा धनगढीमा ७, नेपालगन्जमा ६, जुम्लामा ५ तथा भैरहवामा ६ मिलीमिटर वर्षा भएको छ । पोखरामा ०.६ मिली मिटर वर्षा हुँदा काठमाडौँमा २ तथा सिमरामा १ मिलीमिटर पानी परेको विभागले जनाएको छ । पानी परेको बेला चिसो महसुस भए पनि त्यसपछि भने क्रमशः जाडो घट्दै जानेछ । भोलिदेखि भने आकाश सफा रहने मौसमविदको भनाइ छ । लामो समयसम्म वर्षा नहुँदा हिउँदे बाली बिग्रने चिन्तामा परेका पहाडी भेगका किसानलाई भने हिमपातले धेरै राहत पुर्याएको छ । बाक्लो हिउँले गाउँघर सेताम्य बनेपछि किसानहरु बालीनाली सप्रिने आशले खुसी भएका छन् ।
।