सूचनाको शक्ति - The Power Of Information

        

नेपालकै ठूलो अक्सिजन प्लान्ट नेपालगन्जमा


बाँके । नेपालगन्जमा अत्याधुनिक प्रविधियुक्त अक्सिजन ग्यास प्लान्ट सञ्चालनमा आएको छ । नेपालकै सबैभन्दा ठूलो यो प्लान्टबाट दैनिक ४७ लिटर क्षमताको एक हजार सिलिण्डर अक्सिजन ग्यास उत्पादन हुने बताइएको छ । त्यस्तै दैनिक १२ सय लिटर लिक्विड नाइट्रोजन र अक्सिजन उत्पादन क्षमता रहेको यो प्लान्टबाट जिरो एयर ग्यास पनि उत्पादन हुन्छ ।
एचओ अक्सिजन ईन्डस्ट्रिज प्रालिले सञ्चालनमा ल्याएको प्लान्टले सोमबारबाट विधिवत उत्पादन थालेको छ । करिब १० करोड रुपैयाँ लागतमा स्थापना गरिएको यो प्लान्ट सञ्चालनमा आएसँगै नारायणघाटदेखि पश्चिमी क्षेत्रमा सहज र सुलभ ढंगले अक्सिजन तथा नाइट्रोजन ग्याँस अनि लिक्विड उपलब्ध हुने सञ्चालकको भनाई छ ।
बढ्दो जनसंख्याको चाप, विरामीहरुको वृद्धि, उद्योग कलकारखानाको विस्तार, अस्पतालहरु र स्वयम् व्यक्तिगत जीवनका साथै बजार आवश्यकताको अध्ययन गरेर काठमाडौं बाहिरको बजारमा सर्वसुलभ तरिकाले अक्सिजन र नाइट्रोजन उपलब्ध गराउन प्लान्ट स्थापना गरिएको सञ्चालक गौरवकुमार श्रेष्ठले दाबी गरे ।
बाँकेका युवा व्यवसायीहरु सम्मिलित हरिओम ग्रुपको लगानी रहेको एचओ अक्सिजन इन्ड्रष्ट्रिज नेपालमै सबैभन्दा धेरै उत्पादन क्षमता भएको प्लान्ट हो । खासगरी पश्चिम नेपालमा अक्सिजन र नाइट्रोजन ग्याँस सिलिन्डरको बजारलाई पूर्णतया आत्मनिर्भर बनाउने आफूहरुको सोंच रहेको हरिओम ग्रुपका सदस्य तुषार साहले बताए ।
अक्सिजन र नाइट्रोजन ग्याँस उत्पादनको परीक्षणमा ९९ दशमलब ८ प्रतिशत शुद्धता रहेको प्रमाणित भइसकेको साहले बताए । उत्पादित गरेका अक्सिजन, नाइट्रोजन ग्याँस र नाइट्रोजन लिक्विडजस्ता पदार्थहरु खासगरी औद्योगिक तथा स्वास्थ्य सेवा क्षेत्रको प्रयोजनका लागि हुनेछ ।

प्रकाशित मिति : ९ माघ २०७४, मंगलवार १०:४०