सूचनाको शक्ति - The Power Of Information

        

पत्रकार महासंघ बाँकेले खोल्यो नयाँ सदस्यता, उपमेयर उमालाई विदाई

बाँके । नेपाल पत्रकार महासंघ बाँके शाखाको आइतबार बसेको बैठकले विभिन्न ६ वटा निर्णयहरु गरेको छ । बाँके शाखा अध्यक्ष ठाकुरसिंह थारुको अध्यक्षतामा बसेको बैठकले विभिन्न ४ वटा प्रस्तावमाथि छलफल गरेको सहसचिव काशीराम शर्माद्वारा जारी गरिएको विज्ञप्तीमा जनाइएको छ ।
बैठकले नेपाल पत्रकार महासंघ बाँके शाखामा आवद्ध साधारण सदस्यहरुको सदस्यता नविकरण र नयाँ सदस्यता वितरणका लागि माघ १० गतेदेखि २५ गतेसम्म आह्वान गर्ने निर्णय गर्दै सो कार्यका लागि सचिव तिलक गाउँलेको संयोजकत्वमा ६ सदस्यीय समितिसमेत गठन गरेको छ ।
सो समितिको सदस्यहरुमा सहसचिव शकील अहमद कादरी, कोषाध्यक्ष केशव राना, सदस्यहरु आलम खान, संगीन शर्मा र सरला सुवेदी रहेका छन् । त्यस्तै बैठकले बाँके शाखामा आवद्ध भएका तर निष्क्रिय रहेका साधारण सदस्यहरुको सदस्यता शुद्धिकरण तथा स्वेच्छिक अवकासका लागि आह्वान गर्ने निर्णय गरेको छ ।
स्थानीय तहको निर्वाचन २०७४ मा नेपालगन्ज उपमहानगरपालिकाको उपमेयर पदमा निर्वाचित बाँके शाखाका साधारण सदस्य उमा थापा मगरलाई वधार्य ज्ञापन गर्दै शाखाको साधारण सदस्यबाट स–सम्मान विदाई गरेको छ । त्यस्तै यही माघ २८ गते बाँके शाखाको स्थापना दिवसका अवसरमा सो दिन प्रभातफेरीको आयोजना गरिनुका साथै बाँके शाखाका पूर्व अध्यक्षहरुलाई सम्मान र अन्तरक्रिया गर्ने निर्णय गरेको विज्ञप्तीमा जनाइएको छ ।
बैठकले नेपाल पत्रकार महासंघ बाँकेको भवन परिसरमा रहेको खाली जग्गामा माटो पटान गर्नका लागि जिल्लास्थित सरोकारवाला तथा सम्वद्धहरुसँग सहयोगका लागि आग्रह गर्ने जनाएको छ । साथै नेपालगन्ज उपमहानगरपालिकाले पत्रकारिता क्षेत्रको विकासका लागि छुट्टयाएको रकमका सम्बन्धमा महासंघले आवश्यक समन्वय गर्ने निर्णय गर्दै जिल्लाका अन्य स्थानीय तह (गाउँपालिका र नगरपालिका)हरुमा ठोस कार्ययोजना तयार गरी आवश्यक पहल तथा समन्वय गर्ने निर्णय गरिएको सहसचिव शर्माले जनाएका छन् ।

प्रकाशित मिति : ७ माघ २०७४, आइतवार ०८:३१