सूचनाको शक्ति - The Power Of Information

        

दुई वर्षदेखि भिसा हात लागेन, निराश बने युवा

ठगी मुद्दाको कागज देखाउँदै रफिक र मो. हनिफ ।

ठगी मुद्दाको कागज देखाउँदै रफिक र मो. हनिफ ।


बाँके । ठूलो परिवार, दश धुरमा बनेको सानो घर, बाबुले गरिरहेको ठेक्कापट्टामा घाटा भएपछि त्यही पनि पाँच लाखमा दृष्टिबन्धक । जानकी गाउँपालिका–६, कोठारपुरका मौफुज अलि तीन भाइलाई सँगै लिएर विदेश जान कस्सिए । गाउँकै अब्दुल हकले केहीलाई विदेश पठाएको देखेका मौफुजका दाजुभाई उनकै सम्पर्कमा पुगे ।
एक लाख ५ हजारमा दुबईको लाल सुपरमार्केटमा पठाउने कुरा भयो । मौफुजका भाईहरु हारुन, मो. फारुक र सारुकसँगै गाउँकै कयामत अलि नाउ र सान्तब्रेज अलि नाउ पनि विदेश जान कस्सिए । राहदानी बनाउने प्रक्रिया अघि बढ्यो । जिल्ला प्रशासन कार्यालय, बाँके र केहीको काठमाडौंबाट राहदानी बन्यो । सबै राहदानी दलाल अब्दुलको हातमा पुग्यो । जिल्ला प्रशासन कार्यालयबाट बनेको मो. फारुक र सारुकको राहदानी दलाल अब्दुलका छोरा इमामुल खाँ (जो जिल्ला प्रशासन कार्यालयमा पियन छन्)ले नै बुझेर बाबुलाई दिए ।
राहदानी दलालको हातमा पुगेपछि पैसाको कुरा आयो । ६ जनाले नै दलाललाई ६०–६० हजार बुझाए । स्वास्थ्य परीक्षणका लागि काठमाडौं बोलाइयो । स्वास्थ्य परीक्षणका लागि काठमाडौं जाँदा भिसा आउन केही दिन लाग्ने भयो भनेर सबैलाई घर पठाइयो । दलालसँग उनीहरुको निरन्तर सम्पर्क भइरह्यो । एक दिन ल आउनुस् भनेर दलालले काठमाडौं बोलाए । घरमा बिदाइ चल्यो । रुवाबासी भयो । ६ जनाको टोली काठमाडौं हानिए । काठमाडौं बसेको एक हप्तासम्म भिसा हात लागेन । फोनमा दलालले अझै केही दिन लाग्ने बताए ।
घरबाट बिदाइ भएर गएको टोली फेरि घर फर्कियो । गत असार १७ गते फेरि दलालले भिसा आएको भन्दै काठमाडौं बोलाए । ‘पहिला भएन यसपटक निश्चित हुन्छ भनेर बोलाइएको थियो,’ मौफुजले थपे । यो पटक पनि घरबाट सबै धार्मिक प्रक्रिया पुर्याएर काठमाडौंका लागि बिदाइ भए । २२ दिन बस्दासम्म उडान भएन । दलालले अझै केही दिन लाग्ने बताइरहेपछि टोली फेरि घर फर्कियो । कोठारपुरका यी ६ जनाको विदेश जाने सपना दलालले दुई वर्षदेखि तुहाइरहेको छ । न त दलालले पैसा नै फिर्ता गरेको छ । मौफुजका दाजुभाईले मामाको ५ धुरको घरजग्गा अढाई लाख रुपैयाँमा दृष्टिबन्धक राखेर पैसाको जोहो गरेका थिए ।
‘बाबुको ठेक्कापट्टामा घाटा भएपछि आफ्नो १० धुरमा बनेको घरजग्गा दृष्टिबन्धक राखेर पाँच लाख रुपैया तिरिएको थियो, भाईहरुलाई विदेश पठाएपछि तिरौला नि भनेर मामाको ५ धुरको घरजग्गा दृष्टिबन्धक राखेर अढाई लाख रुपैया निकालेर दलाललाई दिएका थियौं,’ दाजु रफिक सल्मानीले भने, ‘दलालले बदमासी गर्दा सबै सपना चकनाचुर भए । आफ्नो र मामाको घरजग्गा लिलामी हुने अवस्था आएको छ ।’ कयामतका बुवा मो. हनिफ नाउले सय कडा पाँच रुपैया ब्याजमा पैसा खोलेर दलाललाई दिएको बताए । ऐलानी जग्गामा बस्दै आएका हनिफ ‘नौवा’ को काम गर्छन् । विदेश जाने सपना देखेका युवाका परिवारलाई दलालको बदमासीले गर्दा उठिबास हुने अवस्था आएको छ ।
पीडितहरु जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय पुगेका छन् । दलालले ६ जनासँग चार लाख रुपैया लिएको स्वीकार गरेर कागज बनाएका छन् । उनीहरुको पैसा र राहदानी फिर्ता गर्नु भन्दा पनि दलालले अझै केही दिनमा उडाइदिने भन्दै झुलाएका छन् । ‘अहिले त फोन गर्दा पनि लाग्दैन, सम्पर्क पनि गर्दैनन्, पैसा असुलीका लागि कानूनी प्रक्रिया अघि बढाएका पीडितहरु भन्छन् । जिल्ला प्रशासन कार्यालयमा पियनको काम गर्ने इमामुलले सोमबारसम्ममा भिसा आउने र उनीहरुले बाँकी पैसा जति छिटो जोहो गर्छन्, उति नै छिटो विदेश उड्ने बताए । ‘उनीहरु सबैको राहदानी बुवामार्फत मेनपावर कम्पनीमा पुगेको छ, मैले पनि बुवालाई छिटो उडान गराइदिन भनिरहेको छु, प्रशासनमा काम गर्ने भएपनि राहदानी बुझ्नेदेखिको कामहरु गरेर बुवालाई सघाएका इमामुलले भने ।

चार लाखको तमसुक ।

प्रकाशित मिति : ७ माघ २०७४, आइतवार ०५:०९