काठमाडौं । प्रदेश प्रमुखलाई सरकारले मन्त्री सरह सुविधा दिएको छ । गृह मन्त्रालयले उनीहरु मन्त्री सरह सुविधा दिइएको जनाएको छ । शुक्रबार सपथ लिएलगत्तै गृह मन्त्रालयले उनीहरुलाई गाडी, पिएसओ लगायत सुविधा दिइसकेको छ ।
‘उहाँहरुलाई मन्त्री बराबरकै सुविधा दिइएको छ,’ गृह मन्त्रालयका सहसचिव हरिशरण पुडासैनीले भने,‘मन्त्री चढ्ने गाडी नै दिएका छौं, सुरक्षाको प्रबन्ध पनि मन्त्री सरह नै गरिएको छ ।’ सुरक्षाका लागि सेनाबाट पिएसओ खटाइएको छ ।
शुक्रबार सपथ खाएका सातै जना प्रदेश प्रमुखहरु आइतबारदेखि प्रदेशको अस्थायी राजधानीमा हाजिर हुँदैछन् । आइतबार नै प्रदेश सांसदहरुलाई उनीहरुले सपथ खुवाउने कार्यक्रम छ । १ नम्बर प्रदेशमा गोविन्द सुब्बा, २ मा रत्नेश्वरलाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, ६ मा दुर्गाकेशर खनाल र ७ मा मोहनराज मल्ललाई प्रदेश प्रमुख नियुक्त गरिएको थियो ।
पदभार ग्रहण गराएर क्षेत्रीय प्रशासक फर्कने
आइतबार प्रदेश प्रमुखहरुलाई पदभार ग्रहण गराएपछि क्षेत्रीय प्रशासकहरु फर्कने भएका छन् । सातै प्रदेशमा सरकारले प्रमुख सचिवको नेतृत्वमा कर्मचारी खटाउने तयारी गरेको छ । आइतबार नै प्रमुख सचिव खटाउने सम्भावना रहेको सामान्य प्रशासन मन्त्रालयका एक अधिकारीले बताए । क्षेत्रीय प्रशासकमध्ये केहीलाई भने त्यही प्रमुख सचिव बनाउने तयारी समेत छ ।
।