सपथ ग्रहणको तयारी गरिएको बुटवल उद्योग वाणिज्य संघको भवन
बुटवल । प्रदेश नम्बर ५ का सांसदको शपथ आइतबार हुने भएको छ । अस्थायी केन्द्र बुटवलको बुटवल उद्योग वाणिज्य संघको भवनमा शपथ हुने भएको हो । प्रदेश प्रमुख उमाकान्त झाले आफ्नो शपथ ग्रहण लगत्तै प्रदेश सांसदको शपथ ग्रहणको कार्यतालिका तय गरिएको हो ।
आइतबार बिहान ११ बजे शपथ ग्रहण हुने भन्दै झाले त्यसको तयारी भइरहेको बताए । बुटवल उद्योग वाणिज्य संघको हलमा शपथ स्थल बनाइादैछ । यो सभाहल ५ सय जना क्षमताको हो । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले शपथ स्थल, प्रदेश प्रमुखको सचिवालय र निवास तयार भइसकेको बताए ।
प्रदेश प्रमुख झा शनिबार बुटवल आउदैछन् । उनको सचिवालय रुपन्देही व्यापार संघको भवनमा तयार हँुदैछ । त्यस्तै निवासका रुपमा रामनगर स्थित सीप विकास केन्द्रको भवन प्रयोग हुने प्रजिअ मैनालीले बताए । शपथको तयारीका लागि जिल्लाका सरकारी कर्मचारी जुटिसकेका छन् ।
निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयसँग भवन डिभिजनले टोली खटाएको छ। आवश्यक फर्निचरको व्यवस्थापन शनिबार साझसम्म भइसक्ने बताइएको छ । शपथका लागि प्रदेश सभाका प्रत्यक्ष तर्फ निर्वाचित ५२ जना र समानुपातिकबाट निर्वाचित ३५ जना गरी ८७ जना रहेका छन् ।
शपथ ग्रहण हुने सभाहललाई नै तत्कालका लागि प्रदेश सभा बैठक स्थलका रुपमा प्रयोग गरिनेछ । उद्योग वाणिज्य संघको सचिवालयमा नै सभामुख र उपसभामुखको कार्यकक्ष सहित संसद सचिवालय राखिने बताइएको छ । प्रदेश मन्त्रालयका लागि समेत भवन व्यवस्थापन भइसकेको छ ।
मन्त्रालयहरु बुटवलमै बनेको श्रम कार्यालयको छ तले भवनमा राखिने भएको छ । त्यहाँ नअटेका मन्त्रालयका लागि बन, राजश्व लगायतका कार्यालयमा व्यवस्थापन गरिनेछ । बुटवलमा प्रादेशिक कार्यालय व्यवस्थापन गर्दै भैरहवा क्षेत्रमा आवास बनाउने तयारी गरिएको छ । प्रदेश कार्यालय बन्ने भएपछि सुरक्षा निकायले पनि त्यसको तयारी गरेको छ । प्रमुखको सचिवालय, सभा स्थल र निवास क्षेत्रलाई सुरक्षा निगरानीमा राखिएको छ ।
।