सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्ज उपमहानगरको फोहोर ट्रयाक्टरमा थन्कियो


बाँके । फाल्ने ठाउँ नपाएपछि नेपालगन्जको फोहोर ट्रयाक्टरमा थन्किएको छ । निजी संस्थाले बिहानभर लगाएर संकलन गरेको फोहोर ट्रयाक्टरमै थन्किएको हो । नेपालगन्ज उपमहानगरपालिकाले फोहोर फाल्ने ठाउँको व्यवस्था नगर्दा फोहोर संकलन गरेर पनि फाल्न नपाएको निजी संस्थाले जनाएका छन् ।
लोड गरेको फोहोर फाल्ने ठाउँ नपाएपछि दुईवटा ट्रयाक्टर नर्सिङहोम पछाडि आपबलिया र एउटा ट्रयाक्टर फूल्टेक्रास्थित मैदानमा राखिएको छ । फोहोर लोड गरेका ट्रयाक्टर रातभरि त्यही रहने सञ्चालकले बताए । केस नेपालकी सञ्चालिका बालिकादेवी रावतले नगरपालिकाले फोहोर फाल्ने ठाउँको व्यवस्था गर्ने सम्झौता रहेको बताइन् ।
‘सम्झौता अनुसार नगरपालिकाले फोहोर फाल्ने ठाउँको व्यवस्था नगर्दा हामीले फोहोर फाल्न पाएका छैनौँ’, रावतले भनिन्, ‘बिहानभरि ट्रयाक्टरमा फोहोर लोड गरे पनि फाल्न नपाएर ट्रयाक्टरमै राखिएको छ ।’ नेपाल स्वच्छ वातावरण सिर्जना केन्द्रका दुईवटा ट्रयाक्टर पनि फोहोर लोड गरेकै अवस्थामा नर्सिङहोम पछाडि आपबगिया राखिएको छ ।
‘दिनभरि दौड्दा पनि फोहोर फाल्ने ठाउँ नपाएपछि फोहोर लोड गरेको ट्रयाक्टर आपबगियामा राखिएको छ’, केन्द्रका सञ्चालक भानु भट्टले भने, ‘फोहोर ठाउँ नहुँदा साह्रै दुःख पाएका छौं ।’ निजी संस्थाले फोहोर फाल्नका लागि जग्गाधनी खोजेर ल्याएका थिए । तारबार गरेर फोहोर फाल्न जग्गाधनीले सहमति जनाए । नगरपालिकाले तत्काललाई तारबार गर्न कहाँबाट पैसा ल्याउने भनेर टार्यो ।
‘तारबारसम्म गरिदेऊ भन्दा पनि नगरपालिकाले बेवास्ता गर्यो, रावतले भनिन्, नगरपालिकाले ठाउँ पनि खोजिदिन्न । खोजेको ठाउँको पनि व्यवस्थापन गरिदिन्न । हामीलाई अप्ठेरोमा पारेको छ ।’ नगरपालिकाका सरसफाई शाखाका प्रमुख अशोक केसीले फोहोर फाल्ने ठाउँ खोज्न आफूहरु लागि परेको बताए । निजी संस्थाले फोहोर फाल्ने ठाउँ नपाएकाले सुस्त गतिमा जग्गा खोज्ने काम गरेको नगरपालिकालाई केही दिनमै आफूलाई त्यस्तै समस्या आइलाग्ने भएको छ ।
नगरपालिकाले अहिले फोहोर फालेको ठाउँ केही दिनमै भरिने केसीले बताए । ‘त्यहाँ भरियो भने त हामीलाई पनि बडो आपत पर्छ । त्यसअघि नै ठाउँ खोजिसक्नु पर्छ, म खाल्टा जग्गा भएका ठाउँमा गएर जग्गाधनीसँग सहमति सम्झौता गर्ने तरखरमा छु’, केसीले भने । नगरपालिका र निजी संस्थाले सँगै फोहोर फाल्दै आएकोमा केही महिनादेखि अलग अलग फालेका छन् ।
निजी संस्थाले उठाउने होटल र अस्पतालहरुको फोहोर बढी दुर्गन्धित हुने भएकाले अलग अलग फाल्ने गरिएको छ । फाल्ने ठाउँ नपाएर ट्रयाक्टरमा रहेको फोहोर ट्रयाक्टरमा रहँदासम्म फोहोर उठ्ने कुरा नै भएन । यस्तो समस्याले दुर्गन्ध अझ बढाउने देखिएको छ । बजारमा जम्मा हुने फोहोर सबै उही दिन व्यवस्थापन हुन सक्दैन । त्यसमा पनि निजी संस्थाले फोहोर फाल्ने ठाउँ नपाएर उठाउन छोडेपछि अझ नेपालगन्जको वातावरणीय अवस्था दयनीय हुने देखिएको छ ।

प्रकाशित मिति : ६ माघ २०७४, शनिबार ०६:५१