सूचनाको शक्ति - The Power Of Information

        

चिट्ठामा परेको भन्दै ठगी गर्ने गिरोह पक्राउ


बाँके । चिट्ठाको लोभ देखाई फोन, भाइबर तथा ह्वाट्सएपको माध्यमबाट लाखौं ठगी गर्ने गिरोहलाई बाँके प्रहरीले पक्राउ गरेको छ । ‘चिट्ठामा तपाईंलाई २५ लाख रुपैयाँ तथा कार परेको छ । त्यो चिठ्ठाको रकम र कारको कर बापतको रकम बुझाएर उपहार लिनुहोस्’ भन्ने खालको मेसेज पठाएर उनीहरुले ठगी गर्दै आएका थिए । उनीहरु भारतीय तथा पाकिस्तानी नम्बरबाट समेत फोन गर्ने गर्थे ।
पक्राउ पर्नेहरुमा भारत लखनऊका २२ वर्षीय अब्बु सैयफ खान, नेपालगन्ज ५ का २२ वर्षीय अकिव इद्रिसी, २१ वर्षीय अमिरबाबु कसगर र नेपालगन्ज ६ का १९ वर्षीय मोहम्मद फाहाद हलुवाई रहेका छन् । ठगी गिरोहका सदस्यहरुले पछिल्लो एक महिनाको अवधिमा मुगु घर भई काठमाडौं बस्दै आएकी सुमन सुनार तथा कपिलवस्तु वाणगंगा बस्ने गणेश घिमिरेबाट ५ लाख १० हजार लिई ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
आफूहरु डिडी कम्पनीको प्रतिनिधि भएको बताउँदै उनीहरुले प्रलोभन देखाई चिठ्ठामा परेको रकम तथा कारको करबापतको रकम तिर्नुपर्ने सर्त राखेका थिए । प्रहरीको प्रारम्भिक अनुसन्धानमा ठगी गिरोहका मुख्य नाइके पाकिस्तानमा रहेका छन् । उनले भारत र नेपालमा नेटवर्क बनाएर ठगी गर्दै आएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक रणबहादुर बिष्टले बताए । पाकिस्तानी तथा भारतीय गिरोहका व्यक्तिको नेपालमा पैसा झिक्न लागि माध्यम नभएपछि नेपालीलाई प्रयोग गर्ने गरेको बिष्ट बताउँछन् । उनीहरुको नाममा आइएमई मार्फत रकम मगाएर लिने गरेको अनुसन्धानमा समेत संलग्न बिष्टले बताए ।

प्रकाशित मिति : ६ माघ २०७४, शनिबार ०५:५८