सूचनाको शक्ति - The Power Of Information

        

अस्थायी मुकाम ‘बुटवल’लाई तोकेपछि नेपालगन्जमा प्रदर्शन


बाँके । प्रदेश नम्बर पाँचको केन्द्र बुटवललाई नमान्ने उद्घोष गर्दै शुक्रबार नेपालगन्जमा विरोध प्रदर्शन गरिएको छ । पूर्वधारयुक्तले नेपालगन्जलाई नै प्रदेशको केन्द्र नगराए बाँके पाँच नम्बर प्रदेशबाट अलग हुने चेतावनी दिइएको छ । शुक्रबारदेखि नै सरकारी निर्णयको विरोधमा बाँकेका कार्यालय, घर, पसलमा कालो झण्डा राखिने भएको छ ।
तुलसीपुर उच्च अदालत वार एशोसिएसन नेपालगन्जको परिसरबाट पापडको अगुवाईमा विरोर्ध याली निकालिएको छ । उक्त र्याली त्रिभुवनचोक, त्रिवेणीमोड, घरबारीटोल धम्बोझी पुगेर वीपीचोकमा आई कोणसभामा परिणत भएको थियो । र्यालीमा ‘नेपालगन्जको प्रदेशको राजधानी कायम गर’ जस्ता नारा लगाइएको थियो ।
सांसद इस्तियाक राईले आठौ प्रदेश गराएर भए पनि नेपालगन्जलाई प्रदेशको केन्द्र गराई छाड्ने बताए । ‘महिनौ बन्द गरौं, राजश्व नतिरौं, सांसद राईले थपे, जुनसुकै मूल्य चुकाएर भएपनि नेपालगन्जलाई राजधानी बनाउनु पर्छ ।’ विधायक आइपी खरेल र सुरेन्द्र हमालले सरकारले संघीयता विरोधी निर्णय गरेको टिप्पणी गरे ।
उनीहरुले राजधानी मागको आन्दोलनमा बाँकेवासीलाई सडकमा आउन आव्हान गर्दै नेपालगन्ज प्रदेशको राजधानी नभए ६ नम्बरमा मिसिने या छुट्टै प्रदेश बनाउने चेतावनी दिए । नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा धवलसम्शेर राणा, एमालेका जिल्ला उपाध्यक्ष निरक गुरुङ, नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य, वारका उपाध्यक्ष शालिकराम सापकोटा, वारका जिल्ला अध्यक्ष बलबहादुर चन्दल गायतले पुरानो शहर नेपालगन्जलाई राज्यले सधैं उपेक्षा गर्दै आएको उल्लेख गर्दै प्रदेशको केन्द्र बनाउन बाँकेवासी एकजुट भएर सशक्त आन्दोलन गर्नुपर्नेमा जोड दिए ।
सरकारले प्रदेशको राजधानी बनाउने आन्तरिक तयारी गर्दादेखि नै अन्यत्र आन्दोलन शुरु भए पनि नेपालगन्जमा भने अस्थायी राजधानी तोकिसकेपछि जनता तातिएका छन् । नेपालगन्जको चिसोमा राजधानी मागको आन्दोलन पनि चिसियानबाट तातिने संकेत गरेको छ । शुक्रबारकै आन्दोलनमा पनि स्थानीय जनताको बलियो उपस्थिति थिएन ।

प्रकाशित मिति : ५ माघ २०७४, शुक्रबार ०८:०४