सूचनाको शक्ति - The Power Of Information

        

थारु वस्तीमा माघी डेवानी : धमाधम नेतृत्व चयन


लखन चौधरी । धनगढी । माघी पर्व सकिएयता पश्चिम नेपालको थारु वस्तीमा नेतृत्व चयनको कार्य शुरु भएको छ । वर्षभरी गरिएको कामको समिक्षा गर्ने र आउने वर्षको लागि कार्ययोजना बनाउने कार्य संगै गाउँ वस्तीको नेतृत्व चयन गर्ने या अनुमोदन गर्ने काम शुरु भएको हो । गाउँवासीले सर्वसहमत ढंगले नेतृत्व स्वरुप भल्मन्सा, बडघर, अघारी, चिराकी, गुरुवा, केसौकालगायत आफै छनौट गर्ने प्रचलनलाई थारु समुदायमा माघी डेवानी तथा भुरा खेल भन्ने प्रचलन रहदै आएको छ ।
यसैबीच बुधबार कैलारी गाउँपालिका–३ लालपुरका स्थानीयहरुले गाउँको पुरानै अगुवाहरुलाई पुनः एक वर्षको लागि अनुमोदन गरेका छन् । गाउँको सम्पन्न माघी डेवानी कार्यक्रममार्फत गाउँ, समाजको लागि इमान्दारितापूर्वक योगदान दिदै आएको भन्दै पुरानै भल्मन्सा जगदिश चौधरी र अघारिया बिन्तीराम चौधरीलाई पुनः चयन गरेका हुन् । स्थानीय धनबेलिया सामुदायिक वन उपभोक्ता समूहका सचिव मनिप्रसाद चौधरीका अनुसार भल्मन्सा जगदिश चौधरी १० औं पटक लगातार गाउँको भल्मन्सामा चयन भएका हुन् भने अघारी बिन्तीराम चौधरीको यो चौठौं कार्यकाल सुरु भएको छ ।


थारु वस्तीको प्रमुख तथा मुखियाको भूमिका निर्वाह गर्ने व्यक्तिलाई भल्मन्सा तथा बड्घरको रुपमा चिनिन्छ । भने अघारी तथा चिराकीले बड्घरको सहायकको रुपमा लिने बताइन्छ । थारु नागरिक समाज कैलाली संयोजक दिलबहादुर चौधरीले गाउँको हितमा योजना बनाउने, कार्यान्वयन गर्ने, सरोकारवाला निकाय संग समन्वयकारी भूमिका निर्वाह गर्ने र भैपरी आउने विवाद समाधान गर्ने बड्घरको प्रमुख जिम्मेवारी रहेको बताए । साथै प्रत्येक वर्ष गाउँका सिँचाइ कुलो निर्माण तथा मर्मत सम्भार, सडक निर्माण, विवाह तथा मृत्यु संस्कारलगायत कार्यमा गाउँवासीलाई परिचालन गर्नु पनि बडघरहरूको प्रमुख कार्य रहेको उनको भनाई छ ।
गोदावरी नगरपालिका–८ फकलपुरका स्थानीयहरुले पनि हालै माघी डेवानी कार्यक्रममार्फत नयाँ नेतृत्व चयन गरेका छन् । गाउँको भल्मन्सामा यमबहादुर चौधरी र चिराकीमा हरिपदम चौधरीलाई चयन गरिएको छ । त्यस्तै, भल्मन्सा सहयोगी सदस्यमा खुशीराम चौधरी, फूलाराम चौधरी, राजकुमारी चौधरीलाई सर्बसम्मत चयन गरिएको थारु कल्याणकारिणी सभा कैलाली सचिव माधव चौधरीले बताए । पछिल्लो समय थारु वस्तीमा नेतृत्व चयन गर्ने कार्य सर्वसम्मत गरिनुको साथै निर्वाचन प्रणालीमार्फत पनि गरिन थालिएको छ । नेतृत्वको लागि आकांक्षीहरु बढी देखिएमा चुनावमार्फत पनि चयन गरिन थालिएको बतान्छ । नेतृत्व चयन गर्ने कार्य माघ महिनाभरी जारी रहने बताइन्छ ।
यसरी चयन भएका नेतृत्वले पहिले–पहिले गाउँको निःशुल्क रुपमा सेवा गर्नु पथ्र्यौ तर पछिल्लो समय सेवा गरेबाफत गाउँलेहरुले केहि पारिश्रम स्वरुप धान, गेहुँ, चामललगायत जिन्सी पदार्थ दिदै आएका छन् । यसरी पारिश्रमिक दिने कार्यलाई थारु समुदायमा ‘बाली’ दिने भनिन्छ । थाकस सचिव चौधरीका अनुसार गाउँमा रहेका घरधुरी संख्याको आधारमा बड्घरहरुको वार्षिक ज्याला निर्धारण हुने जानकारी दिए । गाउँपिच्छे बालीको दररेट फरक–फरक रहने बताउँदै उनले वर्षमा भलमन्सा÷बड्घरहरुले दुई क्वीन्टलदेखि १२ क्वीन्टल धान ज्याला पाउदै आएको उल्लेख गरे । बाली दिने प्रथाकै कारण गाउँको नेतृत्व हुनेहरुलाई थप प्रोत्साहन मिल्ने र नयाँ पुस्तालाई सामाजिक क्षेत्रमा अग्रसर गर्नमा मदत मिलेको बताउँदै उनले बाली दिने कार्यलाई न्यायोचित बनाउनु पर्नेमा जोड दिए ।

प्रकाशित मिति : ५ माघ २०७४, शुक्रबार ०७:३३