सूचनाको शक्ति - The Power Of Information

        

घरघरमै ‘मोबाइल मिल’, गाउँका महिलालाई राहत


कृष्ण अधिकारी । बाँके । ग्रामीण क्षेत्रमा धान कुट्ने, मकै र गहुँ पिस्ने जस्ता काम वर्षाैंदेखि महिलाले गर्दै आएका छन् । एक दशक पहिलेसम्म ग्रामीण क्षेत्रका महिलाले गर्ने प्रमुख काममध्ये घरायसी उपकरणका रुपमा रहेका ढिकीमा धान कुट्ने र जाँतोमा मकै तथा गहुँ पिस्ने थियो ।
पछिल्ला वर्षमा गाउँगाउँमा डिजेलबाट चल्ने मिल तथा पानी घट्टहरु सञ्चालन हुन थालेपछि महिलाको काम धान, मकै, गहुँ जस्ता खाद्यान्न बोकेर मिलसम्म कुटाउन र पिसाउन जाने हुन थाल्यो । गाउँमा खुलेका मिल तथा पानी घट्टले महिलाको कामको बोझ केही हदसम्म भए पनि घटायो । आधुनिक प्रविधिको विकास र बिस्तारसँगै तराईका ग्रामीण बस्तीमा मोबाइल मिल सुरु भएपछि भने महिलाले धेरै राहात पाएका छन् ।
ट्याक्टरको पछिल्लो भाग (ट्राली)मा धान कुट्ने र मकै तथा गहुँ पिस्ने मेसिनहरु जडान गरिएका मोबाइल मिलले घरघरै पुगेर धान कुट्ने र मकै तथा तथा गहुँ पिस्ने काम गरिदिन थालेका छन् । जसले गर्दा मिलसम्म भारी बोकेर जानुपर्ने र पालो कुर्नुपर्ने वाध्यताबाट महिलाले राहत पाएका छन् । बाँकेको राप्ती सोनारी गाउँपालिकाको बैजापुरमा अझै पनि विद्युत् सेवा पुगेको छैन ।


सोलारबाट मोबाइल चार्ज गर्ने, टिभी हेर्ने र बत्ती बालेर दैनिकी चलाउने गर्दै आएकी स्थानीय सुष्मामा चौधरीले घरमा धान कुटाउन र मकै तथा गहुँ पिसाउन पर्यो भने गाउँकै मोबाइल मिल सञ्चालकलाई फोन गर्छिन् । फोन गरेको केही समयमै मोबाइल मिलका सञ्चालक धर्म्सिंह थारुले घरैमा मिल पठाइदिन्छन् । थारुलाई धान कुटाउने र मकै, गहुँ पिसाउन चाहानेहरुको फोन दिनभरि नै आइरहन्छ ।
‘छिमेकीसँग पनि सल्लाह गरेर कम्तिमा ८–१० जना पुगेपछि फोन गर्न आग्रह गर्छु,’ थारुले भने, ‘एउटै गाउँ, टोलमा धान कुटाउने र मकै, गहुँ पिसाउने ८–१० जना पुगेपछि मोबाइल मिल पठाइदिन्छु ।’ घरमा मिल राख्दा भन्दा मोबाइल मिल चलाउँदा धेरै आम्दानी हुनेगरेको र गाउँका दिदी–बहिनीलाई पनि धेरै सजिलो हुने गरेको उनले बताए ।
छिमेकी मुलुक भारतको सीमावर्ती गाउँहरुमा सञ्चालन भएको देखेपछि आफूले पनि मोबाइल मिल सुरु गरेको उनी बताउँछन् । ‘मोबाइल मिलबाट धान कुट्ने र मकै, गहुँ पिस्ने जस्ता काम गरिदिन्छन् र आफ्नो ज्याला लिएर फर्कन्छन्,’ सुष्माले भनिन्, ‘हामीलाई धेरै सहज भएको छ ।’ विगत २ वर्षदेखि राप्ती सोनारी गाउँमा २ वटा मोबाइल मिल सञ्चालनमा छन् ।
मोबाइल मिलले गाउँगाउँमै पुगेर एक क्विन्टल धान कुटेको १४० रुपैयाँ ज्याला लिने गरेको छ । सिजन अनुसार मिल सञ्चालन गर्ने र मिलको काम नहुँदा ट्याक्टरमा अर्काे ट्राली जोडेर माल सामान ओसार्नेदेखि खेतबारी जोत्नेजस्ता काम गर्दै आएको मिलका सञ्चालक थारुले बताए । उनले भने, ‘एउटा ट्याक्टरलाई बहुउपयोग गरेर गाउँमा पनि सुविधा पुर्याएको छु, आफ्नो आम्दानी पनि बढाएको छु ।’

प्रकाशित मिति : ५ माघ २०७४, शुक्रबार ०५:२१