सुर्खेत । प्रदेश ६ का लागि आवश्यक प्रादेशिक संरचना निर्माण, व्यवस्थापन र मर्मतका लागि ३३ करोड रुपैयाँ लाग्ने भएको छ । प्रादेशिक संरचना पूर्वतयारी कार्यदलले आवश्यक सबै भवन व्यवस्थापनका लागि ३३ करोड रुपैयाँ बजेट प्रस्ताव गरेको छ । मध्यपश्चिम क्षेत्रीय प्रशासन कार्यालयका अधिकृत केशवप्रसाद उपाध्यायले प्रादेशिक संरचना निर्माणका लागि आवश्यक बजेट सरकारसमक्ष प्रस्ताव गरिएको जानकारी दिए ।
उनले भने, ‘हामीले प्रदेश प्रमुखको कार्यालयका लागि आवश्यक तयारी सुरु गरिसक्यौं, कार्यालय, बैठक कक्ष र निवास मर्मत र सिँगारको काम सुरु भएको छ । सबै संरचना मर्मत र व्यवस्थानका लागि आवश्यक ३३ करोड बजेट प्रस्ताव गरिएको छ ।’
त्यसैगरी, प्रदेश प्रमुखको कार्यालय, निवास र प्रदेश सचिवको कार्यालयका लागि ३ करोड, प्रदेश मन्त्रिपरिषद तथा मुख्यमन्त्रीको कार्यालयका लागि ३ करोड, मुख्यमन्त्रीको निवासका लागि १ करोड ५० लाख, प्रमुख सचिवको निवासका लागि ५० लाख, प्रदेश गृह मन्त्रालयका लागि २ करोड, प्रदेश अर्थ मन्त्रालयका लागि २ करोड प्रदेश कृषि, सहकारी र पशुसेवा तथा भूमि व्यवस्थापन मन्त्रालयका लागि २ करोड लाग्ने जनाइएको छ ।
त्यस्तै प्रदेश पूर्वाधार विकास मन्त्रालयका लागि २ करोड, प्रदेश वन, विज्ञान तथा वातावरण मन्त्रालयका लागि १ करोड ५० लाख, प्रदेश शिक्षा, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय व्यवस्थापनका लागि १ करोड ५० लाख, प्रदेश मन्त्रीहरुको निवासका लागि २ करोड, मन्त्रालयमा रहने विशिष्ट कर्मचारीहरुको निवासका लागि २ करोड, सुरक्षा व्यवस्थापनका लागि १ करोड, कर्मचारी स्टोर लगायत अन्य कामका लागि थप १ करोड गरी जम्मा ३३ करोड रुपैयाँ प्रस्ताव गरिएको कार्यदलले जानकारी दिएको छ ।
।