सूचनाको शक्ति - The Power Of Information

        

दुर्गाकेशर खनालको राजनीतिक यात्रा : सुर्खेत कांग्रेसको संस्थापकदेखि प्रदेश प्रमुखसम्म


विनोद शाही । सुर्खेत । नेपाली कांग्रेस सुर्खेतका संस्थापक नेता हुन्, दुर्गाकेशर खनाल । उनकै पहलमा २०२८ सालमा सुर्खेतमा नेपाली कांग्रेसको शाखा स्थापना भएको थियो । खनालको परिवार डोटीबाट बसाइँ सरेर सुर्खेत आएको हो । अध्ययनका लागि सुर्खेतबाट काठमाडौं पुगेका खनाल त्यतिबेलादेखि नै राजनीतिमा आकर्षित भएका थिए । विद्यार्थीकालमा उनको संगत नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतसँग थियो भने विपी कोइरालासँग पनि उनको निकट सम्बन्ध थियो ।
नेपाली कांग्रेस सुर्खेतका युवा नेता गोविन्द कोइरालाका अनुसार कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ गठन हुनुपूर्व नै काठमाडौंमा अध्ययनरत सुदूरपश्चिमका विद्यार्थीले सुदूरपश्चिमाञ्चल छात्र संघ गठन गरेका थिए । जसको अध्यक्षमा अहिलेका कांग्रेस सभापति शेरबहादुर देउवा थिए भने उपाध्यक्ष खनाल थिए । यसले पनि देउवासँगको उनको निकटता देखाउँछ । कोइरालाका अनुसार खनाल काठमाडौंमा उच्च शिक्षा हासिल गर्दै थिए । नेपाली कांग्रेसका नेता विपी कोइराला त्यतिबेला भर्खर सुन्दरीजल जेलबाट छुटेर बनारस गएका थिए ।
खनाल विपीलाई भेट्न बनारस पुगे । त्यतिबेला नै उनले विपीसँग सुर्खेतमा कांग्रेसको शाखा स्थापना गर्न अनुरोध गरे । २०१८ सालमा मात्रै सुर्खेत स्वतन्त्र जिल्ला भएको थियो । त्यसअघि सुर्खेत जिल्ला दैलेखको अधिनमा थियो । वीरेन्द्रनगरको गणेशचोक नजिकै शेर्पा होटल थियो । त्यही होटलमा यहाँका कांग्रेस नेताहरुको गोप्य बैठक बस्यो र जिल्ला शाखाको तदर्थ समिति गठन गर्यो । खनाल त्यतिबेला पढ्दै थिए । पढ्नका लागि काठमाडौं जानुपथ्र्यो । त्यसैले उनलाई सभापति बनाइएन, उनकै सहमतिमा मानसिंह विश्वकर्मालाई सभापति र खनाल सदस्य भएर जिल्ला शाखाको स्थापना गरेका थिए ।
प्रजातन्त्र प्राप्तिको आन्दोलनमा अग्रपंक्तिमा लागेमन खनाल पटक–पटक जेल परेका छन् । उनी काठमाडौंबाट विए र विएडको पढाइ पूरा गरी सुर्खेत आए । त्यसपछि उनी पूर्णकालीन राजनीतिमा होमिए । सुर्खेतका कांग्रेस संस्थापक सदस्य उनी २०३६ सालमा जिल्ला शाखाको सभापति भए । सुर्खेतमा कांग्रेस स्थापना गर्न उनको विशेष योगदान रहेको यहाँका कांग्रेस नेताहरु बताउँछन् । २०४८ सालमा राष्ट्रियसभाका सांसद बनेका खनालले त्यसबाहेक सार्वजनिक लाभको पद भने लिएका छैनन् । पार्टीको आन्तरिक भूमिकामा पनि महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिभन्दा माथि पुगेनन् ।
कांग्रेस सुर्खेतका पूर्व जिल्ला कोषाध्यक्ष समेत रहेका गोविन्द कोइराला खनाललाई व्यक्तिगत लाभको पछि नलाग्ने नेताका रुपमा चित्रित गर्छन् । चाकडी र चाप्लुसी गर्नै नचाहने उनको स्वाभिमानी स्वभावका कारण पनि उनले आफ्नो क्षमता र योगदानले पाउनुपर्ने जति लाभ पाउन नसकेको कोइरालाले बताए । ‘उहाँ लोकतन्त्रप्रति प्रतिवद्ध, अध्ययनशील, वौद्धिक र स्पष्ट बिचार भएको नेता हो,’ कोइराला भन्छन्, ‘आफ्नो स्वार्थका लागि अरुको चाकडी गर्ने स्वभाव उहाँमा छैन ।’ खनालसँग शिक्षण पेशाको समेत अनुभव छ । उनले वीरेन्द्रनगरस्थित जन माध्यमिक विद्यालयमा प्राध्यापन गरेका थिए । उनी जन माध्यमिक विद्यालयको प्राधानाध्यापक समेत थिए । विद्यालयको प्राधानाध्यापक, सांसद हुँदै खनाल अहिले प्रदेश ६ को प्रदेश प्रमुखको जिम्मेवारीमा पुगेका छन् । -नेपाल लाइभबाट

प्रकाशित मिति : ४ माघ २०७४, बिहीबार १०:२७