सूचनाको शक्ति - The Power Of Information

        

सिसी क्यामेराको निगरानी प्रादेशिक महोत्सव


बाँके । नेपालगन्जमा संचालन हुने प्रादेशिक महोत्सवको सुरक्षाका बिषयमा आयोजक मूल समारोह समितिले बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश केसीसहित बिभिन्न सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेको छ । छलफलका क्रममा प्रमुख जिल्ला अधिकारी केसीले महोत्सवका क्रममा आवश्यक पर्ने सम्पूर्ण सुरक्षा व्यवस्था मिलाइने जानकारी दिए ।
उनले आयोजक पक्षसँग निरन्तर सम्पर्कमा रही सुरक्षा समन्वय गरिने उल्लेख गरे । सो अवसरमा बोल्दै नेपाल प्रहरीको दंगा नियन्त्रण गणका प्रहरी उपरीक्षक केदार रजौरे, सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय महेन्द्रनगर, नेपालगन्जका सशस्त्र प्रहरी उपरिक्षक फणीराज पौडेल, औद्योगिक सुरक्षा गण बाँकेका सशस्त्र प्रहरी उपरीक्षक शैलेन्द्र भण्डारी, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अर्याल लगायतका सुरक्षा निकायका प्रमुखहरुले महोत्सवमा पूर्ण सुरक्षाको प्रत्याभूति गरिने प्रतिबद्धता जनाए । सो अवसरमा ट्राफिक व्यवस्थापन मजबुत बनाउने बिषयमा छलफल भएको थियो ।
सो अवसरमा बोन्दै महोत्सव मुल आयोजक समितिका संयोजक तथा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले महोत्सवमा सुरक्षाको बिषयमा सुरक्षा निकायसँग निरन्तर सम्पर्क र समन्वय गरिने बताए । उनले सुरक्षाका बिषयमा कुनै सम्झौता नगरिने पनि बताए । अध्यक्ष बैश्यले महोत्सव स्थलमा सुरक्षा व्यवस्था मजबुत बनाउनका लागि सिसी क्यामेरा क्यामेराबाट निगरानी गरिने उल्लेख गरे ।


बैश्यका अनुसार त्यसका लागि महोत्सवस्थलमा दुई दर्जन बढि सिसि टिभी जडान गरिएको पनि जानकारी दिए । सुरक्षा निकायसँगको छलफलमा नेपालगन्ज उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष एवं महोत्सव सुरक्षा व्यवस्थापन उपसमितिका संयोजक अब्दुल वाहिद मन्सुरीले आयोजकका तर्फबाट गरिने सुरक्षा सम्बन्धी व्यवस्थाका बिषयमा जानकारी गराएका थिए । मन्सुरीले सेक्युरिटी गार्ड, स्वयंसेवकको आन्तरिक सुरक्षा व्यवस्थापनका अलावा सुरक्षा निकायको मुख्यरुपमा साथ लिने बताए ।
सुरक्षा निकायसँगको छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, उपध्यक्ष दुर्गाप्रसाद भण्डारी, महासचिव अजय टण्डन, उपमहासचिव तारा खत्री रोकाय लगायतका पदाधिकारी एवं कार्यसमितिका सदस्य, २२ वटै उपसमितिका संयोजकहरुको सहभागिता रहेको थियो । महोत्सवलाई यस क्षेत्रकै उत्सवका रुपमा मनाउने तयारी भएकाले सुरक्षाको बिषयलाई पनि गम्भीरतापूर्वक लिइएको महोत्सव प्रचार, प्रसार उपसमितिका संयोजक बसन्त लामिछानेले जानकारी दिए ।
महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । यहि माघ ११ देखि २२ गतेसम्म नेपालगन्जस्थित सडक डिभिजन कार्यालय परिसरमा संचालन हुँदैछ । ५, ६ र ७ नम्बर प्रदेशको मुख्य प्रवेशद्धारका रुपमा रहेको नेपालगन्ज व्यापारीक दृष्टिकोणले पश्चिम नेपालको हबकारुपमा स्थापित हुँदै गएकोले महोत्सव संचालनसँगै यस क्षेत्रको आर्थिक गतिशिलताले थप तिब्रता पाउने विश्वास ब्यक्त गरिएको छ । महोत्सवमा व्यापारीहरुको उल्लासमय सहभागीता रहने नेपालगन्ज उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष तथा स्टल बुकिङ उपसमिति संयोजक अब्दुल वाहिद मन्सुरीले बताए ।

प्रकाशित मिति : ४ माघ २०७४, बिहीबार ०५:१४