सूचनाको शक्ति - The Power Of Information

        

सशक्त बन्दै नर्सिङ्ग आन्दोलन, माग सुनुवाई नभए थप चर्काउने


बाँके । यतिबेला नेपालका सबै अस्पतालहरुमा कार्यरत नर्सिङ्ग स्टाफहरु आन्दोलनमा छन् । नर्सिङ्ग स्टाफहरुको आन्दोलनको कारण अस्पतालमा उपचारको लागि आउने बिरामीहरु मर्कामा परेका छन् । नेपाल नर्सिङ्ग संघको आह्वानमा राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्रबाट निष्काशनमा परेका नर्सिङ्ग स्टाफहरुलाई विनाशर्त पुनःबहाली गर्नुपर्ने मागसहित गत पुस २६ गतेदेखि आन्दोलनमा रहेको भए पनि सरकारले उनीहरुको मागको सुनुवाई नगरेपछि थप आन्दोलन चर्काउने भएका छन् ।
सहकर्मी निष्कासनको बिरोधमा बाँकेका विभिन्न अस्पतालमा कार्यरत नर्सिङ्ग स्टाफहरु पनि आन्दोलन सशक्त पार्ने भएका छन् । नर्सिङ्ग स्टाफहरुले आह्वान गरेको आन्दोलनका कारण नेपालगञ्ज, कोहलपुरका अस्पतालहरु समेत प्रभावित भएका छन् । आफुहरु गत पुस २६ गतेदेखि विभिन्न ११ सुत्रीय मागहरु अघि सारेर आन्दोलनमा हुँदा पनि आफुहरुको आन्दोलनको कुनै सुनुवाई नभएको नेपाल नर्सिङ्ग संघका सदस्य देवमाया घर्तीले बताइन् ।
नेपाल नर्सिङ्ग संघको आह्वानमा राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्रबाट निष्काशनमा परेका नर्सिङ्ग स्टाफहरुलाई विनाशर्त पुनःबाहली गर्नुपर्ने, अधिकार सहितको नर्सिङ्ग सेवा महाशाखा पुनस्र्थापना गर्न, नर्स विरामी अनुपात सबै अस्पतालमा लागू गर्न, सरकारले उपलब्ध गराएको न्यूनतम तलव भत्तासरह नीजि संस्थाहरुमा कार्यरत नर्शहरुलाई तहगत हिसाबले उपलब्ध गराईयोस, भोलेन्टियरको नाममा नर्समाथि हुने श्रमशोषण बन्द गरियोस लगायतका विभिन्न ११ बुँदे मागहरु अघि थालनी गरिएको छ ।
नर्सिङ्ग स्टाफहरुले हातमा कालोपट्टी बाँधेर आपतकालिन कक्ष र प्रसुति कक्षबाहेक सबै स्थानमा डयूटी बहिष्कार गर्दै आन्दोलन उत्रिदा पनि संबन्धित निकाय तथा अस्पताल प्रशाशनले कुनै सुनुवाई नगरेकोले बिहीबारबाट थप सशक्त आन्दोलन चर्काउने नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका मेट्रोन ममता शर्माले जानकारी दिइन् । उनले दिएको जानकारी अनुसार आज अर्थात बिहान ८ बजेदेखि ४ बजेसम्म ईमरजेन्सी र प्रसुति केन्द्रबाहेक सबै ठप्प पारिएको छ ।
यसअघि ईमेरजेन्सी, आईसियु, एनआईसियु, प्रसुति सेवा र डायोलेसिस जस्ता क्रिटिकलबाहेक अन्य वार्ड, अपरेशन थियटरसमेत दैनिक ३ घण्टा ठप्प पार्दै आन्दोलनमा उत्रिएका नर्सिङ्ग स्टाफहरुको मागकोसुनुवाई नभएको भन्दै बिहीबारबाट एक सिफ्टे डियूटी अवज्ञा गर्ने आन्दोलनको तयारीमा रहेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका मेट्रोन ललिता शर्माले जानकारी दिइन् । नर्सिङ्ग स्टाफहरुको आन्दोलनको कारण नेपालगन्जको भेरी अञ्चल अस्पतालमा नयाँ विरामी भर्ना हुन तथा डिस्चार्ज गर्नसमेत समस्या भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा.कृष्ण आचार्यले जानकारी दिए ।
नर्सिङ्ग स्टाफहरुको आन्दोलनका कारण अस्पतालमा उपचारको लागि भर्ना भएका विरामीको उपचार प्रभावित हुनुको साथै अपरेशन सेवामा समेत ठप्प भएको छ । उनले भने, ‘नर्सिङ्ग स्टाफको आन्दोलनका कारण अस्पतालमा ईमेरजेन्सी, आईसियु,, एनआईसियु, प्रसुति सेवा र डायोलेसिस सेवाबाहेक अन्य सबै सेवाहरु अत्यन्त प्रभावित बनेकोले आकस्मिक बैठक बसेर जिल्ला प्रशाशन कार्यालय बाँके, जिल्ला जनस्वास्थ्य कार्यालय बाँके र स्वास्थ्य मन्त्रलायमा अवस्थाको बारेमा ध्यानकर्षण गराएर पठाएका छौं ।’

प्रकाशित मिति : ४ माघ २०७४, बिहीबार ०५:१०