सूचनाको शक्ति - The Power Of Information

        

सशस्त्र प्रहरी बल पनि अब प्रदेश संरचनामा


काठमाडौं । नेपाल प्रहरी र नेपाली सेनापछि अर्काे सुरक्षा निकाय सशस्त्र प्रहरी बललाई पनि सरकारले प्रदेश संरचनाअनुसार खटाउने तयारी गरेको छ । एआईजीको कमाण्डमा सशस्त्र प्रहरीलाई प्रदेशमा खटाउने सरकारको तयारी छ ।
शुक्रबारको मन्त्रीपरिषद्को बैठकले सशस्त्र प्रहरीमा ५ जना एआईजीको दरबन्दी थप्ने निर्णय गरेलगत्तै सशस्त्र प्रहरी बलले एआईजी बढुवाको प्रक्रिया सुरु गरिसकेको छ । मंगलबार सशस्त्रले एआईजीका लागि आवेदन मागेको छ । प्रदेशमा खटाउने तयारी स्वरुप दरबन्दी थप गरी एआईजी बढुवा गर्न लागिएको सशस्त्र प्रहरी बलका डिआईजी बाबुराम पाण्डेले बताए । बढुवा भएलगत्तै एआईजीलाई प्रदेशमा खटाउने तयारी छ ।

तीन दिनभित्र आवेदन दिन सूचना
सशस्त्रले बढुवाका आकांक्षीहरुलाई तीन दिनभित्र आवेदन दिने सूचना जारी गरेको छ । शैक्षिक प्रमाणपत्रसहित आवेदन दिएपछि बढुवा सिफारीस समितिले त्यसउपर मूल्याङकन गरी बढुवा प्रक्रिया सुरु गर्ने छ । गृहसचिव मोहनकृष्ण सापकोटा अध्यक्षताको बढुवा सिफारीस समितिको बैठकको सिफारीसका आधारमा सरकारले एआईजी बढुवा गर्ने छ । ५ पदमा १० भन्दा धेरै डिआईजीहरु आकांक्षी छन् ।

अब ११ एआईजी
सशस्त्रमा अब ११ जना एआईजी हुनेछन् । जसमध्ये ७ जना प्रदेशमा खटिने छन् । भने बाँकी ४ जना मुख्यालयमा रहने छन् । हाल सशस्त्रमा कार्यविभाग, प्रशासन विभाग, मानवस्रोत विकास विभाग, सीमा सुरक्षा विभाग, एकेडेमी र महानगरीय सशस्त्र प्रहरी कार्यालय एआईजीको कमाण्डमा रहदै चल्दै आएका छन् ।
अब मुख्यालयमा चार वटा मात्र एआईजी हुने भएकाले मुख्यालयमा मुख्यालयका चार वटा विभागमध्ये दुई वटामा मात्र एआईजी राख्ने सम्भावना छ । मुख्यालयका कुक कुन विभागमा आईजी राख्ने भन्नेमा निर्णय भइनसकेको सशस्त्र प्रहरीका प्रवक्ता डिआईजी पाण्डेले बताए । ‘यस विषयमा थप छलफल हुन बाँकी नै छ,’ उनले भने । एआईजी प्रेम शाही संयोजकत्वको एक कमिटीले संघीयतामा सशस्त्रको संरचनाबारे एउटा रिपोर्ट बनाइसकेको छ ।
तर, त्यसउपर विस्तृत छलफल भइसकेको छैन । विस्तृत खाका नै तयार नपारी सशस्त्रलाई पनि प्रदेश संरचनामा अघि बढाउन लागिएको भन्दै कतिपयले आलोचना समेत गरेका छन् । दरबन्दी हेरफेर र करिअर प्लानिङ एकैपटक बनाउनुपर्ने सशस्त्र प्रहरी अधिकारीको माग थियो । करिअर प्लानिङ नहुँदा सशस्त्रमा इन्सपेक्टरमा भर्ना भएकाहरु एसपीबाटै अवकाश पाउने अवस्था सिर्जना भइसकेको छ ।

सशस्त्र केन्द्रीय कमाण्डमा
संघीय संरचनामा पनि सशस्त्र केन्द्रीय कमाण्डमै संचालन हुनेछ । केन्द्रमा महानिरीक्षक तथा प्रदेशमा एआईजीकै कमाण्डमा सशस्त्र प्रहरी बल रहने सम्भाजना छ । यसअघि नेपाल प्रहरीलाई प्रदेश संरचनामा खटाइसकिएको छ । कानुन नबनेपछि सातै प्रदेशमा एआईजीहरुले कमाण्ड गर्दै आएका छन् । त्यस्तै नेपाली सेनाले पनि प्रदेशअनुसार सातै प्रदेशमा बाहिनी स्थापना गरिसकेको छ ।

प्रकाशित मिति : ३ माघ २०७४, बुधबार ०७:५८