सूचनाको शक्ति - The Power Of Information

        

प्रादेशिक महोत्सव ऐतिहासिक हुने दावी, तयारी अन्तिम चरणमा


बाँके । नेपालगन्जमा सञ्चालन हुने प्रादेशिक महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । माघ ११ देखि २२ गतेसम्म नेपालगन्जस्थित सडक डिभिजन कार्यालय परिसरमा सञ्चालन हुने महोत्सव ऐतिहासिक हुने नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य बताउँछन् । पहिलो पटक बाँकेको नेपालगन्जमा सञ्चालन प्रादेशिक महोत्सव हुन गइरहेकोले यसअघिका महोत्सवभन्दा पृथक हुने अध्यक्ष वैश्यले दावी गरे ।
ऐतिहासिक नगरी नेपालगन्जमा प्रादेशिक महोत्सव सञ्चालन हुनु आफैमा गौरवको कुरा भएको उल्लेख गर्दै महोत्सव मुल आयोजक समितिका संयोजकसमेत रहेका वैश्यले यसपटकको महोत्सव ऐतिहासिक हुने दाबी समेत गरे । प्रदेश नम्बर ५, ६ र ७ को मुख्य प्रवेशद्धारका रुपमा रहेको नेपालगन्ज व्यापारिक दृष्टिकोणले पश्चिम नेपालको हबका रुपमा स्थापित हुँदै गएको जिकिर गर्दै वैश्यले महोत्सव सञ्चालनसँगै यस क्षेत्रको आर्थिक गतिशिलताले थप तीब्रता पाउने विश्वास ब्यक्त गरे ।
महोत्सवमा व्यापारीहरुको उल्लासमय सहभागिता रहने नेपालगन्ज उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष तथा स्टल बुकिङ उपसमिति संयोजक अब्दुल वाहिद मन्सुरीले बताए । महोत्सवमा निश्चित स्टल राख्ने प्रावधानका कारण सबै व्यवसायीलाई समेट्न समस्या भइरहेको बताउँदै मन्सुरीले महोत्सवका लागी आवश्यक सबै ३ सय स्टलहरु बुकिङ्ग भइसकेको जानकारी दिए ।

प्रकाशित मिति : ३ माघ २०७४, बुधबार ०५:१५