बाँके । प्रदेश पाँचको राजधानी दाङलाई बनाउन माग गर्दै दाङ र डोटी बन्दको आह्वान गरिएको छ । दाङबासीले बुधबारदेखि अनिश्चितकालीन दाङ बन्द सुरु गरेका छन् भने गत पुस १९ देखि २४ गतेसम्म लगातार बन्द रहेर केही दिन खुलेको डोटी जिल्ला बुधबार फेरि बन्द भएको छ ।
पाँच नम्बर प्रदेशको राजधानी बुटवल र सात नम्बर प्रदेश राजधानी धनगढीलाई बनाउने संकेत पाएको भन्दै दाङ र डोटीबासीले आन्दोलन सुरु गरेका हुन् । दाङमा विहानैदेखि बिहानैदेखि घोराही, तुलसीपुर, लमही, भालुबाङ, बिजौरी लगायतका बजारहरुमा स्थानीयबासीले टायर बालेर प्रदर्शन गरिरहेका छन् । दाङखण्डमा पर्ने पूर्वपश्चिम राजमार्ग पनि ठप्प छ । बन्दका कारण जनजीवन प्रभावित भएको छ ।
डोटीमा पनि जारी आन्दोलनको बिषयमा थप छलफल गर्न मंगलबार अवेर बसेको आन्दोलन संयोजन समितिको बैठकले बुधबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म बजार, सरकारी तथा गैरसरकारी कार्यालय, यातायात, उद्योग कलकारखाना, व्यापार व्यवसाय पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ । सरकारले प्रदेशको प्रशासनिक केन्द्र दिपायलमै तोक्नु पर्ने मागसहित बन्द आव्हान गरिएको समितिले जनाएको छ ।
दाङ बन्दका कारण लामो तथा छोटो दुरीका गाडी, उद्योगधन्दा, कलकारखाना सबै बन्द छन् । शिक्षण संस्था पनि खुलेका छैनन् । आन्दोलनका लागि दाङबासीले दाङ प्रादेशिक राजधानी सरोकार समिति गठन गरेका छन् । विरोध कार्यक्रमलाई सम्वोधन गर्दै नागरिक समाज दाङका अध्यक्ष टिकाराम रेग्मीले भारतीय डिजाइनमा भारतीय सीमा नजिक राजधानी तोक्न लागिएकाले विरोधमा उत्रिनु परेको बताए ।
यस्तै सरकारले डोटेली जनतालाई अन्याय गर्ने गरी प्रदेश नं. ७ को राजधानी दिपायलबाहेक अन्यत्र तोकेमा डोटी जिल्ला प्रशासन कार्यालयबाट नागरिकता दिएका सबैले आ–आफ्नो नागरिकता सोही कार्यालयमार्फत सरकारलाई फिर्ता गर्ने निर्णय भएको आन्दोलन संयोजन समितिका सदस्य दिपक खड्काले जानकारी दिएका छन् । ‘हामीले पाएको अधिकार कटौती गरेर गैरनागरिकको व्यवहार गरिन्छ भने नागरिकता प्रमाण पत्रको के काम ?’ खड्काले भने, ‘यदि हामीमाथी अन्याय भयो भने जस्तोसुकै मूल्य चुकाउन पनि तयार छौं ।’
यसैबीच प्रदेश नं. ७ को राजधानी दिपायलमा हुनुपर्ने माग राख्दै डोटीमा क्रियाशील राजनीतिक दलहरुले संयुक्त बिज्ञप्ती जारी गरेका छन् । डोटीमा क्रियाशील नौ दलहरु नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम, राप्रपा, राप्रपा राष्ट्रवादी, राष्ट्रिय जनमोर्चा, नयाँ शक्ति नेपाल पार्टी र राप्रपा प्रजातान्त्रिकले संयुक्त बिज्ञप्ती जारी गर्दै राजधानीको माग गरेका हुन् ।
।