विनोद शाही । सुर्खेत । चालु आर्थिक वर्षमा डोल्पाका लागि २३ हजार नौ सय क्विन्टल चामल स्वीकृत भएको छ । तर, पाँच महिना बितिसक्दा जम्मा एक हजार क्विन्टल मात्रै जिल्लामा पुगेको छ । ठेकेदारहरुको लापरवाहीका कारण डोल्पामा लामो समयदेखि चामल ढुवानी हुन सकेको छैन ।
यस वर्ष चामल ढुवानीको ढेक्का लिएका ठेकेदारले हालसम्म ढुवानी नगर्दा जिल्लामा खाद्यान्न पुग्न सकेको छैन । जसका कारण पाँच महिनादेखि डोल्पाका नागरिकले खाद्य संस्थानले बाँड्ने चामल पाउन सकेका छैनन् । जिल्लाका अधिकांश खाद्य डिपो नै रित्तिएका छन् ।
खाद्य संस्थानको शाखा कार्यालय डोल्पाका अनुसार ओम जय दुर्गे जनरल अर्डर एन्ड सप्लायर्स लाटीकोइली सुर्खेत र इन्द्रदीप कन्सटक्सन वीरेन्द्रनगर सुर्खेतले डोल्पामा खाद्यान्न ढुवानीको जिम्मा लिएका छन् । तर, चामल ढुवानीका लागि सम्झौता गरेका ठेकेदारले हालसम्म जिल्लामा ढुवानी नगरेको शाखाका प्रमुख हरिप्रसाद जोशीले जानकारी दिए ।
‘ढुवानी सम्झौता भएको महिनौं भइसक्यो’, जोशीले भने, ‘तर अहिलेसम्म जम्मा एक हजार क्विन्टल चामल मात्रै ढुवानी भएको छ ।’ गोदाममा चामल नआउँदा नागरिकलाई वितरण गर्न नसकिएको उनले बताए । बाटोको समस्या, ढुवानीको साधन अभाव र भाडादर नमिलेको जस्ता विभिन्न बहानामा हरेक वर्ष डोल्पाको खाद्यान्न ढुवानीमा ठेकेदारले लापरवाही गर्दै आएको उनी बताउँछन् ।
राष्ट्रिय सडक सञ्जालमा नजोडिएको डोल्पामा हरेक वर्ष सुर्खेत, नेपालगञ्ज, दाङ र जुम्लाबाट खाद्यान्न ढुवानी हुने गरेको छ । आर्थिक वर्ष ०७४र७५ मा दुनै डिपोमा १४ हजार क्विन्टल, जुफाल, लिकु, काइगाउँ र सर्मि गरी हरेक डिपोमा एक हजार आठ सय क्विन्टल चामल वितरणका लागि खाद्य संस्थानले स्वीकृत गरेको छ ।
त्यसैगरी, माथिल्लो डोल्पाको तिन्जे डिपोका लागि चार हजार पाँच सय क्विन्टल चामल केन्द्रबाट स्वीकृत भएको छ । तर, हालसम्म दुनै र जुफाल डिपोमा गरी एक हजार क्विन्टल मात्रै पुगेको खाद्य संस्थानको डोल्पास्थित शाखा कार्यालयले जनाएको छ । अघिल्लो वर्ष जिल्लामा २० हजार क्विन्टल चामल ढुवानी भई वितरण भएको थियो ।
चामलका लागि हरेक दिन सर्वसाधारण खाद्यको गोदाममा आउने गरेका छन् । तर, चामल नहुँदा उनीहरु रित्तै फर्किने गरेका छन् । खाद्यान्न ढुवानीको जिम्मा पाएको इन्द्रदीप कन्सटक्सनका जवानसिंह बुढाले सडकको असहजताका कारण समयमै र्पुयाउन नसकिएको बताए । उनले चाँडै चामल डोल्पा पुर्याउने तयारी भइरहेको दाबी गरे ।
।