सूचनाको शक्ति - The Power Of Information

        

रुकुमको लालपाटनमा आगलागी हुँदा दुई जनाको मृत्यु

घाइते श्यामबहादुर बोहरा

घाइते श्यामबहादुर बोहरा


रुकुम । जंगलमा डढेलो लाग्दा वनतरुल खोज्दै गरेका दुई जनाको ज्यान गएको छ । पूर्वी रुकुमको लालपाटनमा भएको घटनामा एक जना गम्भीर घाइते भएका छन् । माघे संक्रान्तिका लागि तरुल खोज्न गएका बेला शनिबार पुथाउत्तरगंगा गाउँपालिका ३ नजिकैको लालपाटन जंगलमा डढेलो लाग्दा केशरमान मल्ल र शेरबहादुर बोहराको जलेर मृत्यु भएको हो ।
३८ वर्षीय श्यामबहादुर बोहरा भने गम्भीर घाइते भएका छन् । जंगलबाट समयमै अस्पताल पुर्याउन नसक्दा उनीहरुको ज्यान गएको हो । विकट ठाउँमा घटना भएकाले ढिलो गरी जानकारी आएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र सापकोटाले बताए । जंगलमा लागेको आगो अझै नियन्त्रणमा आएको छैन ।
यस्तै घटनामा घाइते श्यामबहादुर बोहरालाई सेनाको हेलिकप्टरबाट आइतबार दिउँसो नेपालगन्जको भेरी अञ्चल अस्पताल ल्याइएको थियो । उनलाई थप उपचारका लागि काठमाडौंको कीर्तिपुर अस्पताल पठाइएको छ । आइसियुमा राखेर २ दिन उपचारपछि थप उपचारका लागि नेपाली सेनाको ४ नम्बर बाहिनी र अस्पतालको पहलमा कीर्तिपुर अस्पताल पुर्याइएको हो ।
चिकित्सकहरुले शल्यक्रिया गर्ने तयारी गरिरहेको बोहराका आफन्त महेश मल्लले बताए । नेपालगन्जमै प्रभावकारी उपचार गर्न भेरी अञ्चल अस्पतालका चिकित्सकको टोलीले कीर्तिपुर अस्पतालका प्लास्टिक एवं बर्न सर्जन डा शंकरमान राईसँग भिडियो कनफ्रेन्समार्फत परामर्श गरेका थिए । डा राईको सुझाव अनुसार कीर्तिपुर पठाइएको अञ्चल अस्पतालका निमित्त प्रमुख डा कृष्णप्रसाद आचार्यले बताए ।

प्रकाशित मिति : २ माघ २०७४, मंगलवार ०६:०८