सूचनाको शक्ति - The Power Of Information

        

एकाविहानै १५ किलो चरेशसहित नेपालगन्जमा चार पक्राउ


बाँके । नेपालगन्जमा १५ किलो लागुपदार्थ चरेशसहित चार जना पक्राउ परेका छन् । एकाबिहानै १५ किलो चरेश बोकेर अटोरिक्साबाट भारततिर हिडेका चार जनालाई बाँके प्रहरीले ट्राफिक चोक अगाडिबाट पक्राउ गरेको हो । २६ गतेदेखि नेपालगन्जस्थित एक होटलमा बसेका युवाहरु बिहान सवा ५ बजे नै नाका पार गर्न चरेश बोकेर निस्केका थिए ।
रुकुमका हुमान कुँवर, जुम्लाका टेकबहादुर शाही, दैलेखका सूर्यबहादुर रासकोटीमगर र बाग्लुङका सरेमान छम्तेल चरेशसहित पक्राउ परेका हुन् । दुई जनाले दाङबाट नेपालगन्ज र दुई जनाले नेपालगन्जबाट नाका पार गर्ने जिम्मा लिएका थिए । सूर्यबहादुर र सरेमानले दाङबाट चरेश नेपालगन्ज पुर्याएका थिए । उनीहरुलाई नेपालगन्जसम्म चरेश पुर्याउन १५–१५ हजार रुपैयाँ दिइएको थियो ।
त्यस्तै, नेपालगन्जदेखि नाका पार गर्न हुमान र टेकबहादुरलाई प्रयोग गरिएको थियो । उनीहरुलाई नाका पार गराएमा १०–१० हजार रुपैयाँ दिने सहमति गरिएको थियो । बिहान अटोरिक्सामा हुमान र टेकबहादुर पक्राउ परेका थिए । उनीहरुले भने अनुसार नै पछि सूर्यबहादुर र सरेमानलाई नियन्त्रणमा लिइएको थियो । पक्राउ परेका चारैजनाले आफूहरु ‘भरिया’ भएको बताएका छन् ।
प्रहरीले चरेशका असली मालिकको खोजी थालेको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेमा राखेर उनीहरुविरुद्ध कारबाही र अनुसन्धान भइरहेको छ । बाँके प्रहरीले लागु पदार्थ विरुद्ध ‘सिदा’ नामक कारबाही अभियान चलाइरहेको छ । प्रहरीका अनुसार, अभियानअन्तर्गत नै बिहान नियमित जाँच गर्दा चरेश बरामद भएको थियो ।
प्रदेश नं. ५ र ६ का पहाडी जिल्लाबाट चरेश ल्याएर नेपालगन्ज हुँदै भारततिर पुर्याउने गरिन्छ । पहाडी जिल्लामा चरेशको उत्पादनसमेत हुने गर्दछ । भारतीय व्यापारीकै लगानीमा उत्पादन हुने चरेशलाई नेपालगन्ज नाका भएर भारत पुर्याउने गरिन्छ । नेपालगन्जबाट चरेश र भारतबाट ब्राउनसुगर भित्रिने गर्दछ ।
नेपालगन्ज लागुपदार्थको ‘केन्द्रविन्दु’ भएपछि प्रहरीले उच्च प्राथमिकताका साथ छुट्टै टोली नै खटाएर लागु पदार्थविरुद्ध कारबाही अभियान चलाइरहेको छ । चरेश बोकेर भारतमा पुग्दा पक्राउ परेका नेपालीले भारतस्थित बहराइच जेल र ब्राउनसुगर बोकेर नेपाल आएका भारतीयले नेपालगञ्जस्थित केन्द्रीय कारागार शाखा भरिँदै गएका छन् ।
सीमावर्ती भारतीय बजारमा सहजै ब्राउनसुगर पाउने भएकाले नेपालमा लागु पदार्थको कारोबार बढेको छ । भारतीय प्रहरीले खासै कडाइ गरेको पाइँदैन । नेपाल प्रहरीले भने भारततिर जाने र आउने दुवैमा निगरानी गर्छ ।

प्रकाशित मिति : १ माघ २०७४, सोमबार ०८:३८