बाँके । भौगोलिक विविधता र मनोरम दृश्य हेर्न कर्णाली अञ्चलमा आन्तरिक पर्यटक बढेका छन् । पछिल्लो समय रारामा मोटरबाटो पुगेसंगै रारा पुग्ने पर्यटक बढेपछि कर्णालीको सदरमुकाम जुम्लामा पनि पर्यटकको संख्या बढेको छ । कर्णाली अञ्चलको सदरमुकामसमेत रहेको जुम्ला आफैमा पर्यटक लोभ्याउने ठाउँ हो ।
जुम्ला सदरमुकाममै रहेको चन्दनाथ मन्दिर, जुम्लाकै सिजा, ठाकुरद्वारा (ठाकुर ज्यू), तातोपानी, चिमरा धार्मिक स्थल, पताराशी हिमाल लगायतले पर्यटक लोभ्याइरहेका छन् । जुम्लाका पर्यटन व्यवसायी सन्तोषजंग शाह आन्तरिक तथा बाह्य पर्यटक बढेसंगै विस्तारै पर्यटकका लागि खाना र बस्नका लागि स्तरीय होटलको समेत व्यवस्थापन गर्न थालिएको बताउँछन् ।
उनले अझै पनि स्तरीय होटल संचालन हुने क्रम पनि जारी रहेको बताए । आन्तरिक तथा बाह्य पर्यटक बढे पनि जुम्ला लगायत कर्णाली अञ्चलमा सडक पूर्वाधार भने निकै कमजोर रहेको पर्यटन व्यवसायीहरुको गुनासो छ । जडिबुटी, अर्गानिक स्याउ, सिमी, हिमालमा फल्ने कालो मार्सी धान, फापर, ओख्खर, उवालगायतका खाद्य बस्तुका लागि जुम्ला प्रख्यात छ ।
पञ्चायतकालमा कालो मार्सी धानको चामल राजदरबारमा एक भाग जाने गरेको त्यहाँका पर्यटन व्यवसायीहरुको भनाई छ । पर्यटनका लागि ठूलो गन्तव्य रहेको कर्णाली अञ्चलमा पूर्वाधार विकास नहुँदा भने पर्यटन व्यवसाय र पर्यटन क्षेत्रहरु ओझलमा परेका छन् । जुम्ला विमानस्थलका प्रमुख कैलाश शर्मा जुम्ला लगायत कर्णाली अञ्चलमा पर्यटकको संख्या बढ्दै गए पनि सडक लगायतका पूर्वाधारको उचित विकास हुन नसकेको बताउँछन् ।
उनले रारालाई लक्षित गरेर कर्णाली पुगेका पर्यटकहरु जुम्लालाई पनि केन्द्रविन्दु बनाउने गरेको र जुम्लाका विभिन्न ठाउँमा पुग्ने गरेकाले सिजा लगायतका ठाउँहरुमा पुग्नका लागि सडकलगायतका पूर्वाधार भने कमजोर रहेकाले यसतर्फ राज्यको ध्यान जानुपर्ने सुझाव दिए । प्रमुख शर्माले आफु जुम्ला विमानस्थल आएपछि विदेशी र आन्तरिक पर्यटक बढ्दै गएको रेकर्ड रहेको उल्लेख गर्दै पर्यटन प्रवद्र्धनका चुनौतीलाई चिर्न सकेको खण्डमा कर्णाली अञ्चल देशकै नमुना पर्यटन गन्तव्य हुने बताए ।
पर्यटकका लागि कर्णाली अञ्चलमा डोल्पाको से–फोक्सुण्डो, मुगुको रारा प्रमुख गन्तव्य हुन यी लगायत थुप्रै हिमाल, भौगोलिक विविधता, यर्चागुम्बालगायतका बहुमूल्य जडिबुटी विश्वमै चर्चित छन् । यति मात्र होइन प्राकृतिक सम्पदाले भरिपूर्ण कर्णालीलाई विकासले जोड्न सके पर्यटनका लागि सुन्दर गन्तव्य बन्न सक्ने पर्यटन व्यवसायीहरु बताउँछन् ।
जसरी सरकारले पर्यटन प्रवद्र्धनमार्फत आर्थिक समृद्धिको परिकल्पना गरेको छ त्यसका लागि भएका पर्यटकीय क्षेत्रको संरक्षण, नयाँ तथा भर्जिन पर्यटकीय गन्तव्यको खोजी गर्दै पूर्वाधारयुक्त विकास गर्न जरुरी रहेको कर्णालीका पर्यटन व्यवसायीहरुको माग छ ।
।