सूचनाको शक्ति - The Power Of Information

        

एमाले–माओवादीले राष्ट्रियसभा निर्वाचनमा ६०-४० भागबन्डा नगर्ने


काठमाडौं । प्रतिनिधि र प्रदेश सभा चुनावमा वामपन्थी गठबन्धन बनाएर चुनाव लडेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारी बाँडफाँट बुधवार टुंगाउने भएका छन् । हरेक प्रदेशमा क्लस्टर अनुसार उम्मेदवारी टुंगो लगाउने बिषयमा छलफल भएको कार्यदलका एमाले सदस्य सुरेन्द्र पाण्डेले लोकान्तरलाई जानकारी दिए ।
‘भोटको स्थिती के रहेछ भन्ने खाका तयार पारेका छौं, तीन गतेको बैठकमा राष्ट्रिय सभाको उम्मेदवारका लागि आफ्नो दाबी पेश गरेर बुधवार टुंगाउछौ’ पाण्डेले भने । प्रतिनिधि सभा र प्रदेश सभामा ६०-४० को अनुपातमा उम्मेदवारी दिएका एमालेरमाओवादीले राष्ट्रिय सभामा भने संख्याको आधारमा उम्मेदवारी दिने विषयमा छलफल गरिरहेका छन् । तर माओवादीले भने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा जस्तै ६० र ४० प्रतिशत भागवन्डा गर्नुपर्ने बताएको छ ।
एमालेले नेताहरुले ६०-४० प्रतिशतकै आधारमा भागवन्डा गनर्दा प्रत्येक पदलाई छुट्टाछुट्टै रुपम हेर्ने र त्यसका आधारमा बाँडफाँट गर्नुपर्ने बताइरहेका छन् । यसो गरिए ६-६ जना मुख्यमनत्री र सभामुखमध्ये ४-४ जना मुख्यमनत्री र सभामुख एमालेको भागमा पर्छ । माओवादीको प्रस्तावमा एमाले नेताहरु मौन बसेका छन् । यो विषयमा अब शीर्ष नेताहरुबीच छलफल हुनेछ । कार्यदलका एक सदस्यका अनुसार महिला, दलित, अपाङ्ग र खुल्ला गरी प्रत्येक प्रदेशमा दुवै दलले कुन उम्मेदवार छान्ने भन्ने पहिला दाबी गर्नेछन् । त्यसैका आधारमा उम्मेदवारी टुंगो लगाइने छ । कार्यदलले वामपन्थी गठबन्धनले प्रदेश अनुसार देशभर पाएको मतको विश्लेषणसहित उम्मेदवारी दिने छ ।
मतको विश्लेषण हेर्ने हो भने राष्ट्रिय सभामा प्रदेशसभामा विजयी सांसद, समानुपातिक सांसद, गाउँपालिका, नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता रहने छन् । दुई नम्बर प्रदेश बाहेक वाम गठवन्धनसँग सवै प्रदेशमा बहुमत रहेको छ । प्रदेश नम्बर एकमा वाम गठवन्धनको नेकपा एमालेसँग प्रतिनिधि र प्रदेशसभा गरि १९४ र माओवादी केन्द्रसँग ३६ मत रहेको छ । दुई दलको जोड्दा २३० मत वाम गठवन्धनसँग रहेको छ । त्यस्तै दुई नम्बर प्रदेशमा एमालेसँग ६१ र माओवादीको ५५ गरि ११६ मत रहेको छ ।
प्रदेश तीनमा नेकपा एमालेको १९१ र माओवादी केन्द्रको ५० गरि २४१ मत वाम गठवन्धनसँग रहेको छ । प्रदेश चारमा नेकपा एमालेको ९९ र माओवादी केन्द्र २४ मत रहेको छ । जस अनुसार वाम गठवन्धन १२३ मत रहेको छ । प्रदेश पाँचमा नेकपा एमालेको १३१ र माओवादी केन्द्रको ५८ गरि १८९ मत रहेको छ । प्रदेश नम्बर ६ मा नेकपा एमालेको ७९ र माओवादी केन्द्रको ६७ गरि जम्मा १४६ मत रहेको छ । त्यस्तै प्रदेश नम्बर ७ मा एमाले १०८ मतमा रहँदा माओवादी ३४ गरि जम्मा १४२ मत रहेको छ ।
माघ २४ गते हुने राष्ट्रिय सभा चुनावका लागि माघ १० गते उम्मेदवारी मनोनयन गर्ने निर्वाचन कार्यतालिका छ । राष्ट्रिय सभा निर्वाचन, प्रदेश सरकार, मुख्यमन्त्री, सभामुख र मन्त्रीको सिट बाँडफाँटको टुंगो लगाउने जिम्मा पाएको कार्यदलमा पावर शक्ति बाँडफाँटको बिषयमा छलफल शुरु भएको छ । माओवादीले भनेजस्तो ६०र४० भागबन्डा भएको खण्डमा दुईवटा प्रदेशमा माओवादी केन्द्रले मुख्यमन्त्री पाउँने छ भने नेकपा एमालेले ४ वटा मुख्य मन्त्री र दुईवटा सभामुख पाउने छ । दुई दलबीच केन्द्रमा पनि प्रधानमन्त्री र सभामुख बाँडफाँट गर्ने प्रस्तावमाथि छलफल शुरु भएको छ ।
आइतवार बसेको कार्यदल बैठकमा माओवादी केन्द्रले प्रदेशसभा र राष्ट्रियसभामा पद बाडफाँटका लागि प्रस्ताव पेश गरेको छ । प्रदेशसभामा एमालेले मुख्य मन्त्री पाएको ठाँउमा माओवादीको सभामुख र माओवादीले मुख्यमन्त्री पाएको ठाउँमा एमालेको सभामुख पाउनुपर्ने प्रस्ताव गरेको कार्यदलका एक सदस्यले बताए । एमाले अध्यक्ष केपी शर्मा ओली थाइल्याण्डबाट स्वदेश फर्किएपछि औपचारिक निर्णय गर्नेगरी कार्यदलमा छलफल भइरहेको नेता पाण्डेले बताए । कार्यदलका एमालेका तर्फबाट सुवास नेम्वाङ, सुरेन्द्र पाण्डे र शंकर पोखरेल तथा माओवादीका तर्फबाट रामबहादुर थापा, वर्षमान पुन र मात्रिका यादव सदस्य छन् ।

प्रकाशित मिति : १ माघ २०७४, सोमबार ०८:१५