सूचनाको शक्ति - The Power Of Information

        

अवैध हतियार कारोबारको आरोपमा शेष पक्राउ


बाँके । लामो समयदेखि हतियारको अवैध कारोबार गर्दै आएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। ५ नम्बर प्रदेशको विषेश व्यूरोबाट खटिएको टोलीले नेपालगञ्जको खजुरा ५ स्थित उढरापुरबाट गरिव शेष भन्ने व्यक्तिलाई पक्राउ गरेको हो ।
शेषको साथबाट प्रहरीले पेस्तोल एक थान, म्यागजिन एक थान र चार राउन्ड गोली बरामद गरेको छ। उनी हतियारको डिल गर्दै गरेको अवस्थामा ५० हजार भारतीय रुपैयाँसहित पक्राउ परेका हुन् । शेषले धेरै अगाडिदेखि भारतबाट अवैध हातहतियार ल्याएर विक्री गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका शेष माओवादी केन्द्रका स्थानीय नेतासमेत हुन् । उनी स्थानीय तहको निर्वाचनमा खजुरा गाउँपालिका वडा नं ५ साविक उढरापुर गाविसको वडाध्यक्षका उमेदवारसमेत बनेका थिए । उनलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, बाँकेमा राखिएको छ । प्रहरीका अनुसार शेषमाथि अनुसन्धान भइरहेको छ ।
स्थानीय भानु माविको व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका शेषलाई ‘फसाइएको’ स्थानीयको भनाई छ । बाँकेमा पछिल्ला दिनमा २० हजार रुपैयामा पेस्तोलको कारोबार भइरहेका छन् । चुनावको सेरोफेरोमा प्रहरीले बिक्री गर्ने क्रममा तीन थान पेस्तोल बरामद गरेको थियो । ती घटनामा केही भने ‘रिसिइबी साँध्न’ फसाएको पाइएको थियो ।
शेषको बारेमा पनि कसैले फसाएको हो या उनले कारोबार नै गरेका हुन् भन्नेबारेमा अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका मुद्दाफाँट इन्चार्ज रणबहादुर विष्टले बताए । सीमावर्ती जिल्ला भएकाले बाँकेमा भारतबाट सहजै हतियार भित्रिने गरेको पाइन्छ । बाँके प्रहरीलाई भने साना हतियारको सधैं चुनौती रहने गर्दछ ।
भारतबाट नेपालगन्ज ल्याई राजधानीसम्म साना हतियार पु¥याउने गिरोह सक्रिय भएपछि क्षेत्र, संघीय इकाई र जिल्ला प्रहरीको छुट्टाछुट्टै टोली बनाएर त्यसबारेमा निगरानी बढाएका छन् । प्रहरीले सादा पोशाकमा ठूलो संख्याका सुरक्षाकर्मीहरु सीमावर्ती गाउँतिर परिचालन गरिएको प्रहरीले स्रोतले बताएको छ ।

प्रकाशित मिति : ३० पुष २०७४, आइतवार ०९:१५