सूचनाको शक्ति - The Power Of Information

        

समाजसेवामा अग्रसर हुँदै मारवाडी युवा, ३५ जनाले दिए रगत


बाँके । व्यापारीक पृष्ठभूमिका मारवाडी समुदायका युवाहरु पछिल्लो समयमा समाजसेवामा अग्रसर हुँदै गएका छन् । नरम स्वाभावका मानिने मारवाडी समुदायका युवाहरु अहिले सामाजिक क्षेत्रमा अग्रसर हुँदै काम गरिरहेका छन् । मारवाडी युवाहरु अब व्यापार गर्ने मात्रै नभएर समुदायको विकासका लागि पनि अग्रसर हुने मारवाडी युवा मञ्च नेपालगन्जका अध्यक्ष महेश अग्रवालले जानकारी दिए ।


‘हामीले विपन्न वस्तीहरुमा स्वास्थ्य शिविर सञ्चालन गर्ने योजनासमेत बनाएका छौँं,’ अध्यक्ष अग्रवालले भने, ‘व्यापार मात्र नभई समुदायका लागि पनि केही गर्नुपर्छ भन्ने भावनाका साथ एकीकृतरुपमा सक्रियतापूर्वक लाग्नेछौँ ।’ उनले मारवाडी घरानाका युवाहरु समाजमा सामाजिक अभियन्ताको नमूना बन्नुपर्नेमा जोड दिँदै भने, ‘सामाजिक विकास र समृद्धिका लागि हामीहरु सक्रियतापूर्वक सहयोग गर्न तयार छौँ ।’
व्यापार गरेर मात्रै नपुग्ने बताउँदै अध्यक्ष अग्रवालले मारवाडी युवाहरुले राम्रो समाजमा राम्रो काम पनि गर्नुपर्नेमा उनले जोड दिए । यसैबीच, मारवाडी युवा दिवसको अवसर पारेर मारवाडी युवा मञ्च नेपालगन्जले शनिबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ । ‘रक्तदान जिवनदान’ भन्ने मुल नाराका साथ आयोजना गरिएको रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेको अध्यक्ष अग्रवालले जानकारी दिए ।


मञ्चका अध्यक्ष महेश अग्रवालले रगतको अभाव खड्किएर कसैको ज्यान नजाओस् भन्ने उद्देश्यले नेपाल रेडक्रस सोसाइटीसँगको समन्वयमा रक्तदान कार्यक्रम गरिएको बताए । रक्तदान गरौं अरु र आफ्नो जिवन बचाऔं भनेर रक्तदान कार्यक्रम गरिएको बताउँदै अध्यक्ष अग्रवालले रक्तदान गर्ने सबैमा धन्यावाद ज्ञापन गरेका छन् ।

प्रकाशित मिति : २९ पुष २०७४, शनिबार ०८:२५