सूचनाको शक्ति - The Power Of Information

        

निगम कर्मचारी र ट्यांकर चालकको सेटिङ, यसरी बाटैमा गायब हुन्छ तेल


केशवचन्द्र महरा । डोटी । ट्यांकरमार्फत नेपाल आयल निगमबाट चलान भएर आउने पेट्रोलियम पदार्थको परिमाण घटेर आउने गरेको व्यवसायीले गुनासो गरेका छन् । व्यवसायीका अनुसार निरन्तर रुपमा प्रतिट्यांकर ४ प्रतिशतभन्दा बढी पेट्रोलियम पदार्थ हराउने गरेको हो ।
‘म प्रत्येक पटक पेट्रोल उठाउँदा ६ हजार लिटरको भुक्तानी दिएर चलान मगाउँछु । आयल निगमले पनि ६ हजारकै बिल बनाउँछ,’ दिपायल सिलगढी नगरपालिका–५ स्थित एसजी फ्युल सेन्टरका सञ्चालक प्रेमबहादुर भण्डारीले भने, ‘तर प्रत्येक पटक हामीले डिप लिँदा २ सयदेखि ३ सय लिटर कम आउँछ ।’ यस्तै समस्या डिजलमा पनि रहेको उनी बताउँछन् ।
अछाम साँफेबगरस्थित इन्द्रसरा आयल स्टोरका सञ्चालक भीमबहादुर कुँवरले आफूले उठाउने १२ हजार लिटरमा निरन्तर ५०० लिटर बाटामै हराउने गुनासो गरे । ‘लैजाँदा १२ हजारको रकम तिरेर लैजान्छौं तर हाम्रो ट्यांकीमा ११ हजार ५ सयभन्दा बढी झर्दैझर्दैन ।’ आयल निगमका कर्मचारी र ट्यांकरका चालकको मिलेमतोमा यस्तो समस्या आइरहेको व्यवसायीको आरोप छ ।
कर्मचारी नै ट्यांकरका चालकसँग मिल्ने गरेको र बाटोमै बेचेर कम तेल थमाउने गरेको व्यवसायी भण्डारीले बताए । ‘निगमले तापक्रमको समस्या लगायतका अनेकन प्राविधिक कुरा देखाएर हामीलाई बाध्य पार्छन्,’ उनले भने । समस्या समाधानका लागि निगम शाखा कार्यालय दिपायल र जिल्ला प्रशासन कार्यालय डोटीमा भण्डारीले निवेदनसमेत दिए ।
तर उनले कुनै प्रतिक्रिया पाएका छैनन् । अछामका व्यवसायी कुँवर पनि यही अवस्था रहे पेट्रोल नबेच्ने निर्णयमा पुगेको बताउँछन् । ‘घरखेत बेचेर सेवा गर्न सकिँदैन । मुनाफाका लागि काम गर्ने हो,’ उनले भने, ‘हाम्रो मुनाफा ट्यांकर चालक र आयल निगमका कर्मचारीले बाटोमै खाइदिन्छन् । अनि कसरी व्यवसाय गर्ने ?’

तापक्रम समस्या
तापक्रमअनुसार पेट्रोलियम पदार्थको आयतनमा तलमाथि हुन्छ । सोही कुरालाई आधार बनाएर निगमले ट्यांकर चालकलाई बचाउँदै आफूहरुलाई घाटामा फसाइरहेको व्यवसायीको आरोप छ । ‘डिजलमा त केही राहत छ तर पेट्रोल धनगढीबाटै लोड भएर आउँछ जसमा १ डिग्री मात्रै तापक्रम कम हुँदा ट्यांकरमा १५ लिटर कम भए हाम्रा टाउकामा हाल्छन्,’ व्यवसायी भण्डारीले भने, ‘सोही कुरालाई आधार बनाएर हामीलाई फसाउँदै आएका छन् ।’ स्रोतका अनुसार बाटामा ट्यांकर चालकले १५० लिटरसम्म गरेको बदमासी सहजै लुक्छ ।
त्यसभन्दा माथिको तापक्रमलाई हवाला दिएर उम्काउन सकिन्छ । निगमको दिपायलस्थित शाखा कार्यालयका प्रमुख निरन मगरातीले यस्तो समस्या तापक्रमकै कारणले सिर्जना भइरहेको दाबी गरे । व्यवसायीले उठाएको समस्या दिपायल शाखाबाट समाधान गर्न कठिनाइ रहेको भन्दै उनले थपे, ‘हामीसँग भण्डार नभएकाले समस्या भएको हो । स्टोरेज नभएकाले हामी पेट्रोलको ट्यांकर धनगढीबाटै मगाएर पम्पलाई आपूर्ति दिन्छौँ । तापक्रमको समस्याले आउने समस्या उहाँहरुले नै जिम्मा लिनुपर्ने हुन्छ ।’ रासस

प्रकाशित मिति : २९ पुष २०७४, शनिबार ०६:३७