सूचनाको शक्ति - The Power Of Information

        

तातोपानी नाका खोल्न चीनले माग्यो सुरक्षा प्रत्याभूति


रमेश लम्साल । काठमाडौं । तातोपानी नाका खोल्नका लागि चिनियाँ पक्षले नेपालसँग सुरक्षाको प्रत्याभूति माग गरेको छ । सुरक्षाका विषयमा चिनियाँ पक्षले बढ्ता चासो राखेको र नेपालले सो सम्बन्धमा आवश्यक विश्वास दिलाउनुपर्ने देखिएको छ । गोरखा भूकम्पका कारण नेपाल चीन सीमाको खासासमेत भौगर्भिक रुपमा जर्जर भएको र त्यसको अध्ययन गरिरहेका कारण नाका सञ्चालनमा ल्याउन थप समय लागेको चिनियाँ पक्षले जानकारी गराएको चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले जानकारी दिए ।
गोरखा भूकम्पको ३४ महिना पुग्न लाग्दा समेत नेपाल र चीन जोड्ने ऐतिहासिक कोदारी सञ्चालनमा आउन नसकेकामा नेपालीको चासो र चिन्ता बढिरहेको बेला राजदूत पौड्यालले चीनको न्यालमबाट खासा खण्डको सडक मर्मतमा चीन सरकारले विशेष जोड दिइरहेको र युद्धस्तरमा काम गरिरहेको जानकारी आफूले पाएकाले नेपालतर्फ पनि आवश्यक तयारी गर्नुपर्ने बताए । जुरे पहिरो, भोटेकोशीको बाढी, गोरखा भूकम्प र लार्चाको पुल गत बर्खाकालमा बगाएका कारण नेपाल चीन सीमासम्म पुग्ने अवस्था नभएकाले आफ्नातर्फको भौतिक पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।
बाह्रबिसे नगरपालिका, भोटेकोशी गाउँपालिका, नेपाल हिमालय सीमापार वाणिज्य संघ, नेपाल ट्रक कन्टेनर व्यवसायी संघ र उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकले आज यहाँ आयोजना गरेको ‘तातोपानी नाका सञ्चालन र कोदारी राजमार्गको स्तरोन्नति’ विषयको कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत पौड्यालले भने ’तातोपानी नाका खोल्न र कोदारी राजमार्ग सञ्चालनमा ल्याउन चिनियाँ राष्ट्रपति सि चिन फिङले नै चासो व्यक्त गर्नुभएको छ । नेपालका तर्फबाट चीनमा भएका उच्चस्तरीय भ्रमणमा समेत पटक पटक सो विषयमा कुरा उठेको छ ।’
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले चिनियाँ राष्ट्रपतिसँग गत वर्ष गर्नुभएको भेटमा समेत सो नाका खोल्ने विषयमा छलफल भएको जानकारी दिँदै उनले चिनियाँ उपप्रधानमन्त्री वाङ याङको नेपाल भ्रमणमा सो विषयले प्राथमिकता पाएको तथा पछिल्लो पटक तत्कालीन उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराको चीन भ्रमणमा समेत गम्भीर छलफल भएको दृष्टान्त पेश गरे । रासस

प्रकाशित मिति : २९ पुष २०७४, शनिबार ०५:५६