सूचनाको शक्ति - The Power Of Information

        

बाँकेका बाढीपीडितलाई कम्बल र न्यानो कपडा


नेपालगन्ज । बाढी र डुबानका कारण पाँच महिनादेखि घरविहीन भएका बाँकेको राप्ती सोनारी गाउँपालिकाका बाढीपीडितहरुलाई कम्बल र न्यानो कपडा वितरण गरिएको छ । शीतलहर र कठ्यांग्रिने चिसोमा कम्बल र बालबालिकाका लागि न्यानो कपडाहरु पाएपछि पीडितहरुले केही हदसम्म राहत महसुस गरेका छन् ।
त्रिपालमा बस्दै आएका पीडितहरुलाई कम्बल र न्यानो कपडा बाँडिएको हो । चिसोको बेला न्यानो कपडा पाएपछि स्थानीयले राहत महसुस गरेको राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले बताए । जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले सेभ दि चिल्ड्रेनको सहयोगमा ८५३ परिवारका तीन वर्षसम्मका बालबालिकालाई ८ प्रकारका कपडा तथा जेष्ठ नागरिकहरुलाई कम्बल वितरण गरिएको हो ।
गत साउन २७ गते आएको बाढीले राप्ती सोनारी गाउँपालिकामा मात्रै करिब ५ हजार परिवार प्रभावित भएका थिए । सरकारले समयमै राहत र पुनर्स्थापनाको कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गर्न नसक्दा अझै पनि धेरै परिवार सामुदायिक वनमा टहरा बनाएर कष्टपूर्ण अवस्थामा बस्दै आएका छन् ।

प्रकाशित मिति : २८ पुष २०७४, शुक्रबार ०५:१९