सूचनाको शक्ति - The Power Of Information

        

भाइरल प्रकोप रोकथामका लागि जुम्लामा उच्च सतर्कता


जुम्ला । जाजरकोटमा भाइरलको प्रकोप बढेपछि छिमेकी जिल्ला जुम्लामा उच्च सतर्कता अपनाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयले जाजरकोटसँग जोडिएको साविकको ताम्ति गाविसमा उच्च सतर्कता अपनाइएको बताएको छ । कार्यालय प्रमुख अंगदबहादुर शाहीका अनुसार ताम्तीलगायत जिल्ला भरीकै स्वास्थ्य संस्थाहरुमा औषधि, स्वास्थ्यकर्मी तयारी अवस्थामा आवश्यकता अनुसार व्यवस्था गरिएको छ ।
यता प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला दैविक उद्धार समितिको बैठकमा प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पौडेलको अध्यक्षतामा समेत बैठक बसेर आवश्यक पूर्वतयारी थालिएको उनले बताए । जाजरकोटको जुनीचाँदे गाउँपालिकाका विभिन्न क्षेत्रमा भाइरल ज्वरो र रुघाखोकीका कारण धमाधम नागरिकको ज्यान जान थालेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको विशेषज्ञ टिम त्यस गाउँपालिकामा खटाइएको प्रतिष्ठानका अस्पताल निर्देशक धर्मराज गोसाइले जानकारी दिए ।
प्रभावित क्षेत्रमा बालबालिकाको मृत्यु बढी भएपछि प्रतिष्ठानका बालरोग विशेषज्ञ डाक्टर नम्रता सिन्दान र मेडिकल अफिसर डाक्टर सूर्य चौधरीसहितको टिम जाजरकोट सदरमुकाम पुगेर प्रभावित क्षेत्रतिर लागेको छ । बालरोग विशेषज्ञ डाक्टर नम्रता सिन्दानले टेलिफोनमा भने, ‘प्रकोप क्षेत्रमा हामीहरु पुगेका छौं, अब उपचार थाल्नेछौं । आशा गरौ, उपचारपछि महामारी कम हुनेछ ।’ जाजरकोटमा तीन सातादेखि फैलिएको भाइरल ज्वरोको प्रकोपबाट ज्यान गुमाउनेको संख्या १३ पुगेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रामबहादुर नेपालीले जानकारी दिए ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार अहिलेसम्म मृत्यु हुनेमा पाँच वर्षभन्दा कम उमेरका सात बालबालिका र ७ जना ५० वर्ष माथिका रहेका छन् । उनका अनुसार प्रकोप क्षेत्रको मस्कोट स्वास्थ्य चौकीले उपचारको समन्वय स्थलको काम गरिरहेको छ । उनले थपे, ‘सबैभन्दा बढी प्रभावित वडा नम्बरहरु १, २, ३ र ५ नम्बरमा रहेको छ ।’ अब कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको टोलीले आवश्यकता भएको ठाउँमा पुगेर उपचार सुरु गर्ने छ ।

प्रकाशित मिति : २८ पुष २०७४, शुक्रबार ०५:१२