सूचनाको शक्ति - The Power Of Information

        

इन्टरनेटको अन्तर्राष्ट्रिय आवद्धतामा नेपाल चीनसँग जोडिने


काठमाडौं । स्थलमार्गबाट हुने इन्टरनेटको अन्तर्राष्ट्रिय आवद्धतामा नेपाल चीनसँग जोडिने भएको छ । शुक्रबारदेखि नेपाल चिनियाँ बाटो हुँदै इन्टरनेटको विश्व सञ्जालमा जोडिन लागेको हो । नेपाल र चीनबीच निर्माण भएको क्रसबोर्डर अप्टिकल फाइबर लिंकको औपचारिक उद्घाटन शुक्रबार हुँदैछ ।
त्यसपछि नेपालले चीन हुँदै विश्वबजारको दूरसंचार नेटवर्कमा आवद्धता जनाउनेछ । भारतसँगमात्र जोडिएको नेपालको इन्टरनेट सञ्जाल अब चीनसँग पनि जोडिएपछि इन्टरनेटमा एक देशसँगको मात्रै निर्भरता हटने भएको छ । चीनसँग नेपाल इन्टरनेटमा जोडिए पछि अब इन्टरनेटमा कुनै समस्या नआउँने नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिए ।
भारत र चीनसँगको इन्टरनेट आवद्धताले नेपाललाई इन्टरनेटको टा«न्सफर हवको रुपमा स्थापना गर्न सकिने उनले बताए । चीन र भारतसँग इन्टरनेट सञ्जालमा जोडिएपछि इन्टरनेट प्रयोगकर्ताले सुलभ र गुणस्तरीय इन्टरनेटको प्रयोग गर्न पाउने उनले बताए । संविधान निर्माणपछि ०७२ सालमा भारतले नेपालमा नाकाबन्दी लगाएपछि नेपालमा इन्टरनेटको लागि समेत वैकल्पिक मार्ग खोज्नुपर्ने बहस सुरु भएको थियो ।
त्यसपछि संसदीय समिति र सरकारले टेलिकमलाई चीनतर्फबाट पनि दूरसञ्चारको अन्तराष्ट्रिय स्थल आवद्धतामा जोडिन निर्देशन दिएको थियो । संसद र सरकारको निर्देशनपछि टेलिकमले भदौ ०७३ मै केरुङ नाकामा अप्टिकल फाइबरसँग जोडिएको थियो । त्यसपछि मंसिर ०७३ मै दुई सेवाप्रदायकबीच आइपी सर्भिस आदान प्रदानका लागि औपचारिक सम्झौता भएको थियो ।

प्रकाशित मिति : २७ पुष २०७४, बिहीबार ११:००