काठमाडौं । १० वर्ष अघिबाट निर्माण थालिएको ३० मेगावाटको चमेलिया जलबिद्युत आयोजनाले माघ ६ गते शुक्रबारदेखि विद्युत उत्पादन थाल्ने भएको छ । नियमित उत्पादन माघको ६ गतेबाट थाल्ने भएपनि शुक्रबार यसबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्न लागिएको हो । सन् २००७ मा निर्माण सुरु गर्दा यो आयोजना ८ अर्बमा निर्माण गर्ने भनिएको थियो । तर समयमै निर्माण सम्पन्न गर्न नसक्दा यो आयोजनाको लागत दोब्बरले बढेर १५ अर्ब पुग्न गएको छ । आयोजना प्रमुख अजय दाहालका अनुसार शुक्रबार देखि यसको एउटा युनिटबाट उत्पादीत बिजुली राष्ट्रिय प्रसारणलाइनमा जोडिेनछ ।
यस जलविद्युत आयोजनामा १५ मेगावाटका २ वटा युनिट छन् । अर्काे युनिट भने अबको १ महिनापछिबाट मात्रै सञ्चालन आउनेछ । ‘पिकिङ रन अफ दि रिभर भएकाले हामीले ६ घन्टा अहिले पनि एउटा युनिटमा १५ मेगावाट बराबरको बिद्युत उत्पादन गर्न सक्छौै, जुन विजुलीलाई शुक्रबारबाट हामीले राष्ट्रिय प्रसारणलाइनमा जोड्नेछौं,’ दाहालले भने ।
६ दिनको लोड रिजेक्सन र ३ दिनको रिलायबिलिटी टेस्ट गरेपछि यसले नियमित उत्पादन थाल्नेछ । दार्चुलाको शिखर गाविसमा निर्माणाधीन चमेलिया जलविद्युत आयोजनाको निर्माणमा लेखा समितिले भ्रष्टाचार भएको आशंका गर्दै काम रोक्न निर्देशन दिएको थियो । जसका कारण एक वर्ष यसको निर्माण रोकिन पुगेको थियो ।
कुल ६११ मिटर सुरुङ खनेको समयमा २३२ मिटर भने खुम्चिएको थियो । संसदको सार्वजनिक लेखा समितिले भेरियसन मूल्यांकनमा भ्रष्टाचार भएको भन्दै बीचैमा काम रोक्न निर्देशन दिएको हो । सन् २०१५ को फेब्रुअरी १० देखि बन्द भएको सुरुङ मर्मतको काम सन् २०१६ को सेप्टेम्बर २८ बाट मात्रै सुरु भएको थियो । यो आयोजना चाइना गेजुवा ग्रुप अफ पावर कम्पनी (सीजीजीसी) ले निर्माण गरिरहेको छ ।
।