सूचनाको शक्ति - The Power Of Information

        

सोनारीका घरविहीन बाढीपीडितले पाए अस्थायी टहरा


कृष्ण अधिकारी । बाँके । बाढी र डुबानका कारण घर भत्किएपछि कष्टपूर्ण अवस्थामा बस्दै आएका बाँकेको राप्ती सोनारी गाउँपालिकाका बाढीपीडितले अस्थायी टहरा पाएका छन् । शीतलहर र कठ्यांग्रिने चिसोमा टहरा पाएपछि उनीहहरुले केही हदसम्म राहत महसुस गरेका छन् ।
उनीहरु पाँच महिनादेखि घरविहीन भएर बस्न बाध्य थिए । जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले ह्याबिटाट फर ह्युमानिटी, युनिक नेपाल र महिला उपकार मन्च लगायतका संघसंस्थासँग समन्वय गरी २३८ घरविहीन बाढीपीडितका लागि टहरा निर्माण गरिदिएको हो ।
‘बाढी र डुबानका कारण घर भत्किएपछि गोठ तथा त्रिपालको टहरामा कष्टपूर्ण बस्दै आएका थियौं,’ सोनारी गाउँपालिका ४ धामपुरका चुल्हवा थारुले भने, ‘सुत्न र बस्न धेरै गाह्रो थियो । अस्थायी भए पनि टहरा पाएपछि चिसोमा निकै राहत भएको छ ।’
विपद् व्यवस्थापन समितिको अगुवाइमा पहिलो चरणमा राप्ती सोनारीका २३८ पीडितहरुका लागि टहरा निर्माण गरिएको हो । एउटा टहरा निर्माणका लागि करिब ३२ हजार रुपैयाँ लागेको ह्याबिटाट फर ह्युमानिटीका परियोजना संयोजक सजन महर्जनले बताए ।


गाउँमै उपलब्ध बाँस, खर, माटो तथा बजारबाट ल्याएको टिन लगायतका सामग्रीबाट टहरा निर्माण गरिएको हो । राप्ती सोनारी गाउँपालिकाको चाँचाफर्का, धामपुर, पर्शुरामपुर, लालपुर लगायत गाउँका बाढीपीडितहरुले टहरा पाएका हुन् । ‘टहरा पाएपछि चिसोमा बस्न सहज भएको छ ।
अझै निर्माणकै क्रममा छौ,’ स्थानीय उत्तरकुमारी बुढा भन्छिन्, ‘हाललाई यसैमा दिन काटौंला । चिसो हटेपछि अर्को विकल्प खोज्नुपर्ला ।’ बाढीका समयमा पनि घर डुबान नहुने गरी जमिनदेखि २ देखि ३ फुट अग्लो बनाएर टहरा निर्माण गरिएको परियोजनाका संयोजक महर्जनले बताए ।
लामो समयसम्म घर नहुँदा पीडित परिवारका सदस्यहरु साँघुरो ठाउँमा कोचिएर कष्टपूर्ण अवस्थामा बस्दै आएका थिए । ‘संघसंस्थाले अलि बलियो टिक्ने घर बनाइदिएको भए राम्रो हुने थियो,’ सोनारी गाउँपालिका ५ चाँचाफर्का गाउँका आशाराम थारु भन्छन्, ’नहुनुभन्दा यतिले भए पनि राहत पाएकै छौं ।’
गत साउन २७ गते आएको बाढीले बाँकेमा ९ हजारभन्दा बढी परिवार विस्थापित भएका थिए । पूर्ण रुपमा क्षति भएका पीडितहरु अझै पनि घरविहीन छन् । कतिपय बाढीपीडित सामुदायिक वनमा टहरा बनाएर बसिरहेका छन् । आफ्नै जग्गामा बसेका पीडितहरुका लागि टहरा निर्माण गर्न थालिएको हो ।

प्रकाशित मिति : २७ पुष २०७४, बिहीबार ०७:४४