सूचनाको शक्ति - The Power Of Information

        

व्यापक बन्दै नेपालगन्जमा धुलोरहित सडक अभियान


बाँके । सडकको धुलो संकलन कार्यलाई व्यापकता दिइदैछ । धुलो उडेर हैरानी भएपछि नेपालगन्ज उपमहानगरपालिकाले सुर्खेत रोड लगायतका मुख्य सडकहरुमा सरसफाईकर्मी नै परिचालित गरेर धुलो उठाइरहेको छ । धुलोका कारण सडक फोहर हुनुका साथै मानव स्वाथ्यलाई समेत असर पुर्याउँदै आएपछि उपमहानगरपालिकाले मंगलबारदेखि नै धुलो उठाउन शुरु गरेको हो ।
सडक किनारमा थुप्रीएको धुलो बडारेर २ वटा ट्रयाक्टरमार्फत उठाइने कार्य भइरहेको छ । ८ जना सरसफाईकर्मीलाई परिचालित गरेर धुलो संकलन कार्यलाई प्रभावकारी बनाइँदै लगिएको उपमहानगरपालिकाका वातावरण तथा सरसफाई इन्जिनियर प्रकाश डीसीले जानकारी दिए । सडकको धुलो सरसफाई अभियान एक हप्तासम्म जारी रहने इन्जिनियर डिसीले जनाए ।
एक हप्ताभित्र सुर्खेतरोड धुलोरहित बन्ने विश्वास गरिएको छ । अभियान लगत्तै स्थानीय उद्योगी व्यवसायीलाई फोहर नगर्न अपील गर्दै फोहर जथाभावी फाल्ने र गर्नेलाई कानूनी सजायबारे सचेत गरिने उपमहानगरपालिकाको तयारी छ ।
यस्तै नेपालगन्ज उपमहानगरपालिका वडा न २ ले एक हप्ताअघिदेखि नै आफनो क्षेत्रका सम्पूर्ण सडकमा धुलो उठाइरहेको छ । केस नामक नीजि संस्थासँगको सहकार्यमा एक हप्तासम्म घरबारी टोल, न्यूरोड, सेतु विक चौक हुँदै बसपार्क रोड, कारकाँदो चौकसम्मको सडकको धुलो उठाइएको वडा अध्यक्ष सुनिलसिंह हमालले जानकारी दिए ।

प्रकाशित मिति : २६ पुष २०७४, बुधबार ०९:५५