सूचनाको शक्ति - The Power Of Information

        

प्रदेश नम्बर ५, ६ र ७ मा खुला दिशामुक्त अभियान : २० हजार घरधुरीसँग शौचालय छैन


बाँके । सन् २०१७ सम्ममा देशभरिका सबै घरधुरीमा ‘एक घर, एक चर्पी’ बनाउने सरकारको अभियान तोकेको मितिमा सफल हुन सकेन । सरकारी आँकडाअनुसार देशमा ५३ लाख ७३ हजार ८०० घरधुरी छन् । तीमध्ये ५१ लाख २६ हजार ९०८ घरले शौचालय प्रयोग गर्ने गरेको सरकारी तथ्याङ्क छ ।
सरकारी तथ्याङ्कलाई मान्ने हो भने पनि २ लाख ४६ हजार ८९२ घरधुरीमा शौचालय छैन । तर ‘एक घर, एक चर्पी’ अभियानमा भने सरकारले ठूलो रकम खर्च गरेको छ । शौचालय निर्माणको लागि सरकारले ५ अर्ब बराबरको खर्च गरिसकेको छ ।
तीन आर्थिक वर्षलाई मात्रै हेर्ने हो भने पनि आ.व २०७२/०७३ मा ४९ करोड ३५ लाख, ०७३/०७४ मा ४७ करोड र ०७४/०७५ मा ३२ करोड खर्च भइसकेको छ । ०७१ माघ २७ गते बसेको मन्त्रिपरिषद्को बैठकले नेपाललाई सन् २०१७ मा खुल्ला दिसामुक्त बनाउने निर्णय गरेको थियो । त्यसै अनुसार शौचालय निर्माण अभियान सञ्चालन गरिएको थियो ।
नेपाललाई नै खुल्ला दिशामुक्त राष्ट्र घोषणा गर्ने लक्ष्य नजिक रहेको खानेपानी तथा सरसफाइ मन्त्रालयले जनाएको छ । खानेपानी तथा ढल निकास विभागका प्रेम श्रेष्ठका अनुसार शतप्रतिशत रूपमा प्रदेश नम्बर ४ र ६ को प्रत्येक घरमा ‘एक घर, एक चर्पी’ अभियान सफल भएको देखिन्छ । यो सरकारी तथ्याङ्क हो, ‘ग्राउन्ड रियालिटी’ हो कि होइन भन्न सकिन्नँ ।


सरकारी तथ्यांकअनुसार प्रदेश नम्बर ५ मा ८ लाख ८३ हजार १ घरधुरीमध्ये ८ लाख ६६ हजार ७३१ घरमा शौचालय निर्माण भइसकेका छन् । १८ हजार ८५० घरधुरीले शौचालय निर्माण गर्न बाँकी छ । प्रदेश ५ को १० जिल्लामा शतप्रतिश शौचालय निर्माण गरिएको छ । जसमध्ये बाँकेमा ९४ हजार ५३४ घरधुरीमध्ये अझै ९४५ घरधुरीसँगै शौचालय छैन ।
त्यस्तै प्रदेश नम्बर ५ को कपिलबस्तुमा सबैभन्दा धेरै ९१ हजार २६७ घरधुरीमध्ये १६ हजार २७० घरधुरीसँग शौचालय छैन भने रुपन्देहीमा १ लाख ६३ हजार ४५३ घरधुरीमध्ये १ हजार ६३५ घरधुरीसँग शौचालय छैन । त्यसैगरी प्रदेश नं ६ का १० वटै जिल्लाका २ लाख ८५ हजार ८२७ घरधुरीमा शतप्रतिशत शौचालय निर्माण भइसकेका छन् ।
प्रदेश नम्बर ७ मा ४ लाख ८१ हजार २७ घरधुरीमध्ये कैलालीबाहेक सबै जिल्लामा शतप्रतिशत शौचालय निर्माणको काम सकिएको छ । कैलालीमा १ लाख ४३ हजार ७९५ घरधुरीमध्ये १ हजार १५० घरधुरीमा शौचालय निर्माण भएका छैनन् । देशभरको शौचालय निर्माणलाई हेर्ने हो भने प्रतिशतको आधारमा ९५.४१ प्रतिशत काम सम्पन्न गरिएको छ । बाँकी ५.६९ प्रतिशत काम सम्पन्न भए पनि देशलाई खुल्ला दिशामुक्त राष्ट्र घोषणा गरिनेछ ।
त्यतिबेला मात्रै ‘एक घर, एक शौचालय’ अभियानले पूर्णता पाउनेछ । खानेपानी तथा सरसफाई मन्त्रालयका सहसचिव शङ्करप्रसाद सुवेदीले लक्ष्यअनुसार घोषणा गर्न नसके पनि त्यसको नजिक रहेको बताए । सुवेदीका अनुसार अहिलेसम्म ४३ जिल्लालाई खुला दिशामुक्त क्षेत्र घोषणा गरिएको छ । सुवेदीको अनुसार २०७२ मा आएको महाभूकम्पले निर्माण भएका ११ सयभन्दा धेरै योजनामा रहेको संरचनाहरू भत्किएका कारण मितिमा घोषणा गर्न नसकेको बताइएको छ ।

प्रकाशित मिति : २६ पुष २०७४, बुधबार ०८:५२