
विनोद शाही । सुर्खेत । बुधवार बिहान वीरेन्द्रनगरस्थित महिला प्रशिक्षण केन्द्रको प्रांगणमा पुग्दा धनसरी कामी एकसरो लुगाको भरमा भेटिइन् । शून्य दशमलव ६ डिग्री सेल्सियसमा झरेको सुर्खेतको तापक्रममा पनि उनी एकसरो लुगाको भरमा भाँडा माझिरहेकी थिइन् । धनसरीले चिसो नभएर न्यानो लुगा नलगाएकी भने होइनन्, तीन वर्षअघि इत्राम खोलामा आएको बाढीले घरबार बगाएपछि विस्थापित भएकी उनले चार हिउँद यसैगरी कटाएकी छिन् ।
‘यस्तो चिसोमा एकसरो लुगामा बस्ने रहर कसको हुन्छ र ?’ उनले भनिन्, ‘साँझ र विहानको छाक टार्नै मुस्किल छ, कसरी किन्नु लुगाफाटो ।’ २०७१ साउनमा बाढीले घरखेत बगाएपछि उनी अन्य बाढीपीडितजस्तै महिला प्रशिक्षण केन्द्रमा रहेको अस्थायी शिविरमा बस्दै आएकी छिन् । अस्थायी शिविरमा बस्न थालेको ३ वर्ष पूरा भइसक्यो । ३ वर्षमा ४ हिउँद खपिसकेकी उनले हरेक वर्षको हिउँद आफूहरुलाई पीडा लिएर आउने गरेको बताइन् । पछिल्ला केही दिनदेखि चिसो बढेसँगै त्रिपालको भरमा बस्दै आएका बाढीपीडितको दैनिकी कष्टकर बनेको छ । 
दिन प्रतिदिन तापक्रममा गिरावट आउँदा बाढीपीडितले थप सास्ती भोगिरहेका छन् । रातिको शितलहरका कारण त्रिपालको भरमा बस्दै आएका बाढीपीडितको विजोग भएको छ । ‘३ वर्ष पुराना त्रिपाल च्यातिएर छियाछिया भइसके,’ धनसरीले भनिन्, ‘शीत पनि नछेक्ने अवस्थामा पुगेका त्रिपालकै भरमा बसिरहेका छौं ।’ चिसोका कारण अस्थायी शिविरमा रहेका वृद्धवृद्धा र बालबालिका बढी प्रभावित छन् । उनीहरुको अवस्था नाजुक बन्दै गएको धनसरी बताउँछिन् । चिसो खप्न निकै गाह्रो भएको भन्दै उनले भनिन्, ‘रातभर त्रिपालबाट शीत चुहिएर हामीले ओढेको सिरक भिजाउँछ, पीडाले छातीमा गाँठो पर्छ । आँशुले सिरानी भिजेको पत्तै हुँदैन ।’
३ वर्ष बितिसक्दा समेत सरकारले पुनःस्थापना नगरिदिँदा यहाँका बाढीपीडितले सास्ती भोगिरहेका छन् । वीरेन्द्रनगरको महिला प्रशिक्षण केन्द्रका साथै हरिहरपुरको रानीघाटमा अस्थायी शिविर बनाएर बाढीपीडितलाई राखिएको छ । बाढीपीडित तुलसी सुनारले ‘आज मरिन्छ कि भोलि’ भन्ने अवस्थामा पुगेको दुखेसो पोखिन् । पुस महिना लागेसँगै त्रिपालबाट चुहिएको शितले रात काट्न मुस्किल पर्ने गरेको उनले बताइन् । ‘त्रिपाल पनि च्यातिएका छन्, नयाँ किन्नका लागि पैसा छैन,’ शीतले भिजेको कपडा घाममा सुकाउँदै गरेकी उनले भनिन्, ‘रातभरि शित चुहिएर कपडा सबै भिजेको हुन्छ, घाम लागेपछि हरेक दिन सुकाउनुपर्छ ।’ 
चिसोका कारण बाढीपीडितको स्वास्थ्यमा समते समस्या देखिन थालेको छ । ‘चिसो बढेपछि ढाड दुख्ने समस्याले दुख दिइरहेको छ,’ तुलसीले भनिन्, ‘अस्पताल जानका लागि पन खर्च छैन । बिहान बेलुकाको छाक टार्ने कि ज्यानको उपचार गर्ने ?’ सरकारले जग्गा खरिदका लागि भनेर दिएको ५० हजार रुपैयाँ गुजारा चलाउनमै खर्च भएको उनले बताइन् । घर बनाउनका लागि ३ लाख रुपैयाँ दिने भने पनि आफूले पाउन नसकेको उनी सुनाउँछिन् । ‘अहिलेसम्म हामीले पाएको त्यही ५० हजार मात्रै हो, त्यसले ऐलानी जग्गा किन्न समेत पुग्दैन, कसरी घर बनाउनु ?’
सरकारले दीर्घकालीन रुपमा पुनःस्थापना गरिदिए आफूहरुले थप समस्या भोग्नुनपर्ने उनीहरुको भनाइ छ । बाढीपीडितले जतिसक्दो छिटो पुनःस्थापना गरिदिन सरकारसँग माग गरेका छन् । ‘त्रिपालको बास छ । यसले न जाडो छेक्छ, न गर्मी,’ धनसरीले भनिन्, ‘बर्खा पनि हाम्रा लागि कष्ट बनेर आउँछ । यसरी कतिञ्जेल बस्ने ? सरकारले हाम्रो पीडा बुझेर पुनःस्थापना गरिदिए हुनेथियो ।’ –नेपाल लाइभबाट
।