इन्द्रसरा खड्का । बैतडी । २०४४ साल मंसिर १९ गते बैतडीको पञ्चेस्वर गाँउपालिका–४, निंगलाडमा जन्मिएकी कुस्मा चन्द असार १४ गते भएको स्थानीय तह दोस्रो चरणकोे चुनावबाट शिवनाथ गाँउपालिकाको उपाध्यक्ष पदमा निर्वाचित भएकी हुन् । शान्त अनि सरल स्वभावकी कुस्मा लामो समय राजनीति गरेर उपाध्यक्ष पदमा निर्वाचित भएकी होइनन् । कुस्मा कक्षा ६ मा पढ्दै गर्दा उनको विवाह भयो । बिहे गर्दा उनी जम्मा १४ वर्षकी थिइन् । कक्षा ६ मा पढ्दै गर्दा छोरीलाइ पढाउनु हुँदैन भन्ने समाजमा कुरा उठेपछि उनका बुवा आमाले उनलाई पढाइ छोड्न लगाएर बिहे गरिदिए ।
बिहेपछि पढ्न पाउने कुनै सम्भावना थिएन । त्यो समयमा सासुससुराले घरको काम गर्न लगाउने भनी छोराको बिहे गराएको रे ! २५ जनाको संयुक्त परिवारमा बिहे गरेकी कुस्माले घरका सबै मान्छेको सेवा गर्नुपथ्र्यो । तर, कलिलै उमेरमा विवाह हुँदा बिहेपछिका जिम्मेवारीको विषयमा उनी अनविज्ञ थिइन् । जसोतसो उनले घरको काम गरिन् । बिहे गरेको केही महिनामै कुस्माका पति प्रकाश चन्द मजदुरीका लागि भारत गए । बिहेको एक वर्ष नपुग्दै उनी सुत्केरी भइन् । तर, गर्भावस्थामा उनलाई सामान्य स्याहार गर्ने पनि कोही भएन । उनकी सासुको पहिला नै निधन भइसकेको र सौतेनी सासूले राम्रो व्यवहार नगर्दा निकै दुःख भोग्नुपरेको उनले बताइन् । उनले भनिन्, ‘सौतेनी सासुले आफू गर्भावस्थामा हुँदा विभिन्न किसिमका कचकच सुनाइन् । मन लागेको बेला खान पाइनँ । मनपरेको खान पाइनँ । गर्भावस्थामा समेत बिहानै ४ बजे ब्यँुझेर दिनभर मेलापात, घाँस, दाउरा तथा ओखल जाँतो गर्दै हिड्नुपथ्र्यो । पेटमा बच्चा भएको बेला के के कुरा खान मन लाग्थ्यो । पेटभरी खान मन लाग्थ्यो तर मनभरीका पीडा सुनिदिने कोही थिएन ।’
आँशु झार्दै उनले भनिन्, ‘छोरा जन्माउँदा पनि घरमा नभएर भैँसी गोठमा छोरा जन्माएँ ।’ छोरा जन्मिएपछि पनि कुस्मालाई घरको कुनै सदस्यले पनि माया गरेनन्, उल्टै छोरालाई ६ महिना पुग्दा सासुले आफ्नो घरबाट छुट्याएर अलग्गै राखिदिइन् । ‘सासूले घरको अंश पनि नदिँदा ६ महिनाको छोरा बोक्दै एउटा पुरानो घरमा बस्दाको पीडा सम्झदा अहिलेको दिन आउला जस्तो लागेको थिएन । तर, मैले हिम्मत हारिन’ उनले भनिन् । घरमा चाहिने भाँडाकुडा तथा अन्न थोरै मात्रामा पनि नदिदा उनी अलग्गै बस्न थालिन्, तर उनका पति प्रकाश भारतमै थिए । ‘मलाई घरबाट अलग गरेकोबारे श्रीमानलाई केही थाहा थिएन । म अलग्गै बस्न थालेको झण्डै १ वर्षपछि मात्रै श्रीमान घर फर्किनुभयो तर उहाँ पनि परिवारसँगै बस्न थाल्नुभयो । मेरो ख्याल कसैले गरेनन्, उल्टो कहिले श्रीमानले एक दुई सय रुपैयाँ दियो भने पनि गाली खानुपथ्र्यो,’ उनले भनिन् ।
उनले एक्लै बस्दा गाँउलेबाट खाना मागेर खाँदै अरुको बाँझो जग्गा खनेर तरकारी खेती सुरु गरेकी थिइन् । गरेपछि के हुँदैन ? काखमा छोरालाई बोक्दै भैँसी, गोरु, बाख्रा पाल्दै उनले पैसा जम्मा गर्न थालिन् । तरकारी बेचेर दैनिक घर खर्च चलाउन पुग्थ्यो । त्यहीबेलादेखि भैँसीको घ्यू बेचेर सहकारी संस्थामा केही रुपैयाँ जम्मा गर्न थालेपछि अहिले उनले महेन्द्रनगरमा ५ कट्ठा जग्गासमेत किनिसकेकी छन् । छोरा हुर्कदै गएपछि उनले २०६५ सालमा फेरि पढाई सुरु गरिन् । छोरा बढ्दै गएपछि काखमा छोरा च्यापेर माइतीमा गएर कक्षा ८ मा भर्ना भइन् । कक्षा ८ र ९ पहिलो श्रेणीमा उत्तीर्ण गरेकी कुस्माले कक्षा १० (एसएलसी) पनि पहिलो श्रेणीमै उत्तीर्ण गरिन् । उनले गणित विषय लिएर उच्च माध्यमिक तह उत्तीर्ण गरिसकेपछि उनले गाउँकै विद्यालयमा अध्यापन गराउने काम सुरु गरिन् । दुई वर्ष शिक्षण गरेपछि उनी श्रीमानसँगै भारत गइन् । भारतमा बस्दा सिलाइकटाइको काम सिकेर भारतमै काम गर्न थालिन् ।
एक वर्ष भारतमा बसेर पुनः घर फर्किएकी कुस्माले माद्यमिक विद्यालयमा गणित विषयमा अध्यापन गराउन थालिन् । दुईवर्ष शिक्षण पेशामा आबद्ध भएपछि उनलाई संघसंस्थामा काम गर्ने रहर जाग्यो । कुस्माले जिल्लामा सञ्चालित एलजिसिडिपी कार्यक्रम अन्तरगत सामाजिक परिचालक भएर काम गर्न थालिन् । विद्यार्थी छँदा देखिनै एमालेसँग नजिक रहेकी उनलाई गाउँपालिका उपाध्यक्षमा उम्मेद्वारी दिन अवसर आयो र उम्मेदवारी दिइन् । मतदाताले बैतडी शिवनाथ गाँउपालिका अध्यक्षमा नेपाली कांगे्रसका कर्णसिंह साउदलाई जिते पनि उपाध्यक्षमा भने एमालेकी कुस्मा चन्द विजयी भइन् । उनको हरेक संघर्षले सफलता दिइरह्यो । विगतमा घरबाटै अनेक पिडादायी हिंसा भोगेकी कुस्माले अहिले घरपरिवारको विश्वास जितेकी छन् । ‘अहिले श्रीमान र ससुराले कमाएको पैसासमेत मलाई नै दिने गर्छन् । मैले भने अनुसार परिवार चलेको छ । ५ नन्दहरुमध्ये ३ को बिहे भैसक्यो बिहेको सबै खर्च मैले नै व्यवस्थापन गरेकी हुँ ।’ बैतडीका धेरै जसोे महिलाले आफ्नोजस्तै पिडा भोगिरहेको उनले बताइन् । आफ्नो उदाहरण दिँदै आफू कमजोर भए सबै पराई हुने भएकाले आत्मनिर्भर बनेर अघि बढ्न उनले सबैलाई आग्रहसमेत गरिन् ।
।