सूचनाको शक्ति - The Power Of Information

        

कर्णालीमा चिसोको कहर : धाराको पानीसमेत जम्न थाल्यो, भाइरल ज्वरोको प्रकोप


विनोद शाही । सुर्खेत । शनिबार ८ दशमलव ७ डिग्री सेल्सियस रहेको जुम्लाको तापक्रम आइतबार ७ दशमलव ४ मा पुग्यो । मुगुमा पनि शनिबारको भन्दा घटेर माइनस ८ डिग्री सेल्सियसमा झर्यो । क्षेत्रीय हावापानी कार्यालय सुर्खेतले विभिन्न केन्द्रहरुबाट गरेको मापन अनुसार प्रदेश नं ६ का हिमाली जिल्लाको तापक्रममा दिनप्रतिदिन गिरावट आएको छ ।
तापक्रममा गिरावट आएसँगै बढेको चिसोले यहाँका नागरिकको जनजीवन कष्टपूर्ण बनेको छ । चिसोसँगै फैलिएको भारइल ज्वरोले हुम्ला र जाजरकोटमा गरी १५ जनाले ज्यान समेत गुमाइसकेका छन् । जाडो अत्यधिक बढेपछि दैनिक जीवनयापनमा समस्या भएको मुगुको सोरुगाउँका पानकली शाहीले बताइन् । बिहान र बेलुकाको समयमा आगो तापेर घरभित्रै बस्नुपर्ने बाध्यता सुनाउँदै उनले भनिन्, ‘काम गर्नै सकिएको छैन, चिसोले घरबाहिर निस्कन समेत मुस्किल पर्ने गरेको छ ।’


मुगुमात्र होइन यहाँका हिमाली जिल्ला जुम्ला, हुम्ला र डोल्पामा चिसो अत्यधिक बढेको छ । तापक्रममा गिरावट आएपछि दैनिकी कष्टकर बन्दै गएको स्थानयीहरु बताउँछन् । हुम्लाको सर्केगाडका गोरे रोकायाले धाराको पानीसमेत जम्ने गरेको जानकारी दिए । ती क्षेत्रमा चिसोसँगै भाइरल ज्वरोले स्थानीय थलिन थालेका छन् । ‘चिसो अत्यधिक छ, घरबाहिर निस्कन गाह्रो हुन्छ,’ उनले भने, ‘त्यसैमाथि रुघाखोकी र ज्वरोले मान्छेको ज्यानसमेत लगिसक्यो ।’
आर्थिक अवस्था कमजोर भएका परिवारमा न्यानो कपडा नहुँदा चिसोले बढी सताउने गरेको छ । ‘लुगाफाटो किन्न पैसा हुँदैन, चिसोले समातिहाल्छ,’ उनी भन्छन्, ‘गरिबलाई जेले पनि धेरै सताउने रहेछ ।’ चिसोसँगै फैलिएको भाइरल ज्वरोले सर्केगाडमा ६ जनाले ज्यान गुमाइसकेका छन् भने अन्य बिरामी परेका छन् । जाडो बढेसँगै यहाँका नागरिकले न्यानोका लागि सामूहिक रुपमा आगो ताप्ने गरेका छन् ।
कर्णालीमा मात्र होइन सुर्खेत, दैलेख, जाजरकोट र कालिकोटमा पनि चिसो बढेको छ । शनिवार शून्य दशमलव ९ डिग्री सेल्सियस रहेको सुर्खेतको तापक्रम आइतबार शून्य दशमवल ५ डिग्री सेल्सियसमा झरेको हावापानी कार्यालय सुर्खेतका प्रमुख निराजन सापकोटाले जानकारी दिए । मध्य तथा सुदूरपश्चिममा चिसो बढ्दै गएकाले चिसोबाट बच्ने उपाए अपनाउन उनले सुझाव दिए । -नेपाल लाइभबाट

प्रकाशित मिति : २५ पुष २०७४, मंगलवार ०४:०२