सूचनाको शक्ति - The Power Of Information

        

आज देशभरका निजी विद्यालय बन्द 

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालले आज देशभरका निजी विद्यालय बन्द गर्ने भएको छ । प्याब्सनका पूर्वअध्यक्ष डा बाबुराम पोखरेलको निधनमा देशभरिका निजी विद्यालय बन्द गर्ने निर्णय गरेको प्याब्सनका महासचिव राजेन्द्र बानियाँले जानकारी दिए ।
प्याब्सनका पूर्वअध्यक्ष पोखरेलको आइतबार बिहान निधन भएको थियो । पोखरेलको निधनपछि बसेको प्याब्सनको आकस्मिक बैठकले आगामी मंगलबार, बुधबार र बिहीबार तीन दिनसम्म प्याब्सनका झन्डा झुकाउनेसमेत निर्णय गरेको छ । पोखरेलको निधनप्रति दुःख व्यक्त गर्दै प्याब्सनले यही पुस २९ गतेसम्म कुनै पनि औपचारिक कार्यक्रम नगर्नेसमेत निर्णय गरेको छ ।
पोखरेल मुटु रोगबाट पीडित थिए । उनी विनायकसुधा (भिएस) निकेतनका संस्थापक प्रधानाध्यापकसमेत हुन् । प्याब्सनका सल्लाहकारसमेत रहेका ६७ वर्षीय डा पोखरेलको मंगलबार नै दाहसंस्कार गरिने महासचिव बानियाँले बताए । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा उनी तत्कालीन मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) बाट समानुपातिक सभासद् थिए ।

प्रकाशित मिति : २५ पुष २०७४, मंगलवार ०३:५६