सूचनाको शक्ति - The Power Of Information

        

मध्य र सुदूरपश्चिममा १६ हजारले गरे स्वास्थ्य बीमा


बाँके । सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रमको २२ महिना पुगेको छ । स्वास्थ्य बीमा कार्यक्रममा बीमा गराउनेहरुको संख्या मध्य तथा सुदूरपश्चिममा १६ हजार ३७६ जना रहेको स्वास्थ्य बीमा बोर्डले जनाएको छ । जसअनुसार मध्यपश्चिमबाट सबैभन्दा धेरै जुम्लामा १ हजार १२५ जनाले स्वास्थ्य बीमा गराएका छन् । बाँकेमा ५१५, बर्दियामा ३५०, सुर्खेतमा ७०८, जाजरकोटमा २६८, रुकुममा ४५१ र रोल्पामा ३५ जनाले स्वास्थ्य बीमा गराएका छन् ।
त्यस्तै सुदूरपश्चिमबाट सबैभन्दा धेरै कैलालीमा ११ हजार ९५१ जनाले स्वास्थ्य बीमा गराएका छन् । त्यस्तै बैतडीमा ६६५, डडेल्धुरामा २६७ र दार्चुलामा ४१ जनाले स्वास्थ्य बीमा गराएको स्वास्थ्य बीमा बोर्डका पुरुषोत्तम सापकोटाले जानकारी दिए । स्वास्थ्य बीमा कार्यक्रम अन्तरगत देशभर हालसम्म २२ जिल्लाका ३ लाख ९९ हजार १५८ जना नागरिकले स्वास्थ्य बीमा गराएको छन् । स्वास्थ्य बीमा बोर्डका प्रमुख गुणराज लोहनीका अनुसार कार्यक्रम संचालन गरेको २२ महिनामा ४ लाखको हाराहारीमा स्वास्थ्य बीमा कार्यक्रमको सदस्यता बन्नु उपलब्धीमूलक ठानेका छन् ।
बीमाको यो संख्या, बीमा गर्ने उमेर समुहको ६ प्रतिशत हो । प्रमुख लोहनीले भने, ‘कार्यक्रम संचालन गरेको २२ महिनामा लक्ष्य पुरा भएको छ ।’ आगामी असारसम्ममा १५ जिल्ला थप गरिने लोहनीले बताए । आउने आर्थिक बर्षमा ७७ जिल्लामा स्वास्थ्य बीमाको कार्यक्रम लागु गर्ने बोर्डको योजना छ । सरकारले गरिबीघर पहिचान भएकामध्ये अहिलेसम्म १० जिल्लाको बीमा गरेको जनाएको छ ।

प्रकाशित मिति : २४ पुष २०७४, सोमबार ११:४४