सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्ज भन्सार : स्तरोन्नतीसँग प्रविधिमैत्री बन्दै


बाँके । समय क्रमसंगै नेपालगन्ज भन्सार कार्यालय पनि रुपान्तरण हुँदै आएको छ । पछिल्लो समय नेपालगन्ज भन्सार प्रविधियुक्त हुन थालेको छ । नेपालगन्ज भन्सार कार्यालयका काम कारवाही तथा गतिविधि अनलाइन पद्धत्तीबाट संचालनमा आएको छ भने एक्सरे मेसिन संचालनमा आउने तयारीमा रहेको नेपालगन्ज भन्सार प्रमुख जनार्दन आचार्यले जानकारी दिए ।
प्रमुख आचार्यका अनुसार पहिले बिलमार्फत भन्सारले राजश्व बुझ्ने गरेकोमा हाल भन्सार परिसरमै बैंक काउन्टर राखेर बैंक भौचरमार्फत राजश्व बुझ्ने गरिएको छ । पश्चिम नेपालको एक प्रमुख भन्सारका रुपमा रहेको नेपालगन्ज भन्सारले राजश्व असुलीसमेत लक्ष्य अनुरुप बढाउँदै गएको जनाएको छ । भन्सार कार्यालय परिसरदेखि करीब ५ सय मिटर दक्षिणमा रहेको जमुनाह नाकासम्मको गतिविधि निगरानीका लागि आधुनिक खालको सिसी टिभी जडान गरिएको छ ।
नेपाल–भारत प्रवेश नाका जमुनाह नजिकै यात्रु शाखा परिसरमै याट निर्माण गरिएको छ । उक्त ठाउँमै सवारीसंगै बस्तु तौल गर्नका लागि धर्मकाँट निर्माण भइसकेको छ । यति हुँदाहुँदै पनि पार्किङको समस्या रहेको व्यवसायीहरुको गुनासो छ । नेपालगन्जका व्यवसायी ओमविनय कौशल पछिल्लो समय भन्सारमा काम छिटोछरितो र सहजरुपमा हुने गरे पनि गाडी पार्किङको समस्या भने हल हुन नसकेकाले पूर्वाधार विकास गरेर अझै सहज बनाउन सुझाव दिन्छन् ।
आयत निर्यातमा सहजता तुल्याउने र व्यवसायीहरुको रेकर्ड राख्ने उद्देश्यले सरकारले गत साउन महिनादेखि एक्जिम कोड लिनुपर्ने प्रावधान लागू गरेपछि व्यवसायीहरु त्यति सन्तुष्ट देखिएका छैनन् । ३ लाख रुपैयाँ बैंक ग्यारेण्टी देखाएर व्यवसायीहरुले भन्सारमार्फत एक्जिम कोड लिनुपर्ने प्रावधान रहेको छ ।
नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य एक्जिम कोड र भारतमा लगाइएको जिएसटी बिलका कारण व्यवसायीहरुलाई मर्कामा परेको बताउँछन् । उनले यस्ता कुराहरुमा परिमार्जन गर्नुपर्ने बताउँदै दैनिक १ हजारभन्दा माथि भन्सार लिने कुरालाई कडाईका साथ लिनुपर्ने बताए ।
खुल्ला सीमा भएका कारण चोरी पैठारी नियन्त्रणका लागि सशस्त्र प्रहरीले भन्सार प्रशासनलाई सघाउ पुर्याउँदै आएको छ । चालू आर्थिक वर्षको ५ महिनाको अवधीमा नेपालगन्ज भन्सार कार्यालयले लक्ष्यभन्दा बढी राजश्व संकलन गर्न सफल भएको छ । लक्ष्यभन्दा झण्डै ५ प्रतिशतले बढी राजश्व संकलन गरेको भन्सार कार्यालयले जनाएको छ । नेपालगन्ज भन्सार कार्यालयले वार्षिक ८ अर्ब राजश्व संकलनको लक्ष्य राखेको छ ।
नेपालगन्ज भन्सार हुँदै भारतबाट पेटोलियम पदार्थ, खाद्यन्न, माछामासु, लताकपडा, मेसिनरी सामाग्री, औद्योगिक कच्चा पदार्थ आयात हुँदै आएको छ भने जडिबुटी, खोटो, भुस, पिठोलगायतका सामाग्री निकासी हुँदै आएका छन् । अन्य भन्सार जस्तै नेपालगन्ज भन्सार कार्यालयले पनि खुल्ला सीमानाका कारण चुनौतीको सामाना गर्नुपरेको छ । अझ ठूलो चुनौती पोके आयात रहेको भन्सारका एक कर्मचारीले बताए ।
उनले आफु अन्य ठाउँका भन्सारमा बसेर आएको जानकारी गराउँदै नेपालगन्जमा रुपैडिहा मोह धेरै भएको आफुले पाएको बताए । दैनिक उपभोग्य सामाग्री होस् या घरायसी अन्य कामका लागि होस् सानासाना पोकामा सँधै सामान ओसार्ने प्रवृत्तिका कारण भन्सार राजश्व त प्रभावित भएकै छ नेपालगन्जका व्यवसायीहरु पनि मर्कामा परेको व्यवसायीहरुको गुनासो छ । यसअघि लागू भएको १ सय रुपैयाँभन्दा बढीको सामान भन्सार गराउने प्रावधान कार्यान्वयनमा नआएर फितलो हुँदा रुपैडिहा जाने उपभोक्ता झनै बढेका छन् ।

प्रकाशित मिति : २४ पुष २०७४, सोमबार ०४:४३