सूचनाको शक्ति - The Power Of Information

        

प्रदेश राजधानीको बहस : प्रधानमन्त्री देउवा अप्ठ्यारोमा


काठमाडौं । राष्ट्रियसभाको चुनावपछि मात्रै सरकार छाड्ने तयारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा अप्ठ्यारोमा परेका छन् । राष्ट्रियसभा चुनावअघि प्रदेशको राजधानी र प्रदेश प्रमुख तोक्नुपर्ने संवैधानिक व्यवस्थालाई सम्बोधन गर्ने उचित बाटो पहिल्याउन नसक्दा उनी अप्ठ्यारोमा परेका हुन् ।
अहिलेलाई प्रदेशको राजधानी नतोकी प्रदेश प्रमुख मात्रै तोक्ने तयारी भए पनि यसमा एमाले लगायत दलले बिरोध गरेका र यसो गर्नु संघीयताको मर्म विपरीत हुने टिप्पणी बढेपछि उनी झन् अलमलमा परेका छन् । यही अलमलले सोमबार बस्ने भनिएको मन्त्रिपरिषद बैठकको टुंगो लाग्न सकेको छैन ।
संविधान अनुसार प्रदेशको स्थायी राजधानी टुंग्याउने काम प्रदेशसभाको हो । त्यसअघि सरकारले अस्थायी राजधानी टुंगो लगाउन सक्ने संविधानमा उल्लेख छ । अस्थायी राजधानी र प्रदेश प्रमुख टुंगो लागेपछि प्रदेशसभाका सांसदले सम्बन्धित प्रदेश कार्यालयबाट शपथ लिनुपर्छ ।
त्यसपछि मात्रै राष्ट्रियसभा चुनावमा उनीहरुले मत दिन पाउँछन् । राष्ट्रियसभाको चुनाव माघ २४ गतेका लागि तय भैसकेको छ । माघ २४ गते राष्ट्रियसभा चुनाव हुने भएपछि एक दुई दिनभित्रै प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुखको टुंगो लगाइसक्नुपर्ने बाध्यता छ ।
त्यसो त राष्ट्रियसभा चुनावको मिति घोषणाअघि नै सरकारले प्रदेशको अस्थायी राजधानी टुंग्याउने गृहकार्य गरेको हो । यसअनुसार सातवटै प्रदेशको अस्थायी राजधानी रहने ठाउँबारे अध्ययन पनि भैसकेको थियोे । मन्त्रिपरिषद बैठकमा छलफल हुनुअघि नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र शहरी विकास मन्त्रालयले अस्थायी राजधानी रहने ठाउँबारेको प्रस्ताव सार्वजनिक गरेपछि ठाउँठाउँमा आन्दोलन चर्किन थाल्यो ।
आफ्नो ठाउँमै राजधानी हुनुपर्छ भन्ने स्थानीय बासिन्दाको मागमा दलका शक्तिशाली नेता, प्रतिनिधिसभा र प्रदेशसभाका निर्वा्चित जनप्रतिनिधि र अरु सरोकारवालाले पनि आआफ्नो अनुकूल अनुसार ‘लबिङ’ तीव्र पारेपछि सरकार अप्ठ्यारोमा परेको छ ।
प्रदेशको राजधानी रहने ठाउँबारे सहमति जुटाउन प्रधानमन्त्री देउवाले एमाले, माओवादीसँग छलफल गरे पनि उनीहरुले सल्लाह दिएनन् । एमाले र माओवादी विवादमा पर्न नचाहेपछि एक्लै निर्णय गर्न कस्सिएको सरकारलाई ठाउँठाउँको आन्दोलनले झस्कायो ।
त्यसैले अस्थायी राजधानी तोक्नैपर्ने बाध्यता संविधानले नदिएको भन्दै सरकारले अहिलेलाई प्रदेश प्रमुख मात्रै नियुक्त गर्ने र प्रदेशको अस्थायी राजधानी काठमाडौंमै रहनेगरी अर्को तयारी थाल्यो । यसअनुसार प्रदेशसभाको पहिलो बैठक काठमाडौंमै बस्ने र त्यही बैठकले प्रदेशको राजधानी तोक्नेगरी सरकारले गृहकार्य अगाडि बढायो ।
तर प्रदेशको राजधानी तत्काललाई काठमाडौंमा राख्ने र प्रदेशसभाको बैठक पनि केन्द्रमै बस्ने कार्य संघीयताको मर्म विपरीत हुने अर्को आवाज बलियो हुन थालेको छ । प्रदेशको राजधानी तोक्दा पनि बिरोध हुने, नतोक्दा पनि बिरोध हुने भएपछि अर्को विकल्पबारे सरकारले छलफल अगाडि बढाएको छ । हाललाई उच्च अदालत रहेकै ठाउँमा प्रदेशसभा सदस्यको शपथ गराउने गृहकार्यमा सरकार लागेको छ ।

प्रकाशित मिति : २४ पुष २०७४, सोमबार ०३:५८