सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रियसभा निर्वाचन : कति मतदाता ? कहिले नतिजा ?


काठमाडौं । सरकारले राष्ट्रियसभा निर्वाचनको मिति घोषणा गरेसँगै निर्वाचन आयोग आन्तरिक तयारीमा जुटेको छ । आयोगसँगको परामर्शपछि शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभा निर्वाचन माघ २४ गते गर्ने निर्णय गरिसकेको छ । यसअघि आयोगले माघ २५ गते निर्वाचनको मिति घोषणा गर्न सरकारलाई सुझाव दिएको थियो ।
निर्वाचन मिति घोषणासँगै आयोगले निर्वाचन नियमावली, निर्दे्शिका र कार्य्विधि बनाउने कामलाई अघि बढाएको छ । राष्ट्रियसभा निर्वाचन सम्बन्धी ऐनलाई प्रस्ट बनाउन आयोग आन्तरिक गृहकार्यमा जुटेको हो । निर्वाचनको कार्यतालिका आयोगले केही दिनमै सार्वजनिक गर्ने तयारी गरेको छ । आयोग स्रोतका अनुसार कार्य्विधि बनाउने काम सकिएलगत्तै आयोगले व्यवस्थापकीय अधिकृत नियुक्ति गर्नेछ ।
आयोगले सातैवटा प्रदेशमा निर्वाचन कार्यालय स्थापना गर्ने कार्यलाई समेत अगाडि बढाएको छ । कार्यालय स्थापनासँगै मताधिकार पाएका स्थानीय तहका प्रमुख र उपप्रमुख तथा प्रदेश सांसदको मतदाता नामावली प्रकाशन गरिनेछ । त्यसमा दाबी विरोधको सूचना प्रकाशन गरेर आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गर्नेछ । लगत्तै राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी मनोनयम र दाबी विरोधको कार्यक्रम सार्वजनिक गरिनेछ । र, सम्बन्धित प्रदेशको निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ ।

२०५६ मतदाता, १० घन्टाभित्र नतिजा
राष्ट्रियसभा निर्वाचनका लागि प्रत्येक प्रदेशबाट ८ जना प्रतिनिधि गरी ५६ जना निर्वा्चित हुनेछन् भने राष्ट्रपतिबाट ३ जना मनोनीत हुनेछन् । प्रत्येक प्रदेशबाट कम्तीमा ३ जना महिला, १ जना दलित र १ जना अपांगता भएका व्यक्ति वा अल्पसंख्यक निर्वा्चित हुनेछन् । सरकारको सिफारिसमा राष्ट्रपतिले जारी गरेको अध्यादेश अनुसार राष्ट्रियसभा निर्वाचन एकल संक्रमणीय हुनेछ । आयोगका अनुसार राष्ट्रियसभा निर्वाचनमा सातवटै प्रदेशबाट २ हजार ५६ जनाले मतदान गर्नेछन् ।
जसमा प्रदेशसभा सदस्य ५५० र स्थानीय तहबाट प्रमुख र उपप्रमुख गरी १५ सय ६ जना रहनेछन् । आयोगले थोरै मतदाता भएकाले निर्वाचनको मतपत्र अन्तिम समयमा मात्र डिजाइन गर्ने तयारी गरेको छ । मतदान सकिएको १० घन्टाभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरिएको निर्वाचन आयोगका सूचना अधिकारी सूर्यप्रसाद अधिकारीले बताए । राष्ट्रियसभाको निर्वाचन प्रक्रिया सकिएलगत्तै आयोगले प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको सूचीसमेत सार्वजनिक गर्नेछ । त्यसपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ ।

प्रकाशित मिति : २२ पुष २०७४, शनिबार ०९:१२