
काठमाडौं । चलचित्र ‘झ्यानाकुटी’ मा मालतीको भूमिका निभाएकी अभिनेत्री वेनिशा हमाल पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा पाइला अगाडि बढाउने प्रक्रियामै छिन् । अर्थात् ‘पपुलर’ हुन केही समय लाग्ला । भलै उनका अन्य चलचचित्रले भन्दा झ्यानाकुटीले उनलाई केही सफल पनि बनायो । यो चलचित्रबाट राम्रै प्रतिक्रिया बटुलिन् उनले । मिडियामा भिजे (भिडियो जक्की) हुँदै सिनेमा क्षेत्रमा प्रवेश गरेकी अभिनेत्री वेनिशा हमाललाई भने यतिबेला फसाद परेको छ । कुरा हप्ताअघिको हो । म्युजिक अवार्डका लागि कलाकार र पत्रकारको टोली दुबई पुगेको थियो । त्यहाँ भएको म्युजिक अवार्डमा झ्यानाकुटी अभिनेत्री वेनिशा हमालले पनि अवार्ड पाइन् । त्यसो त दुबई पुगेका सबै कलाकारका पोल्टामा अवार्ड परेको थियो । तर ती अवार्डमध्ये वेनिशा हमालले आफ्नो अवार्ड फिर्ता गरिन् । 
कारण थियो, उनले जुन विधामा अवार्ड पाइन्, त्यसका लागि आफूलाई उचित ठानिनन् । ‘मैले भन्दा पनि मभन्दा चर्चित अभिनेत्रीले पपुलर अभिनेत्रीको अवार्ड पाउनुपर्छ भन्ने लागेर फिर्ता गरेकी हुँ’, वेनिशाले भनिन्, ‘अहिले आएर अनेक कुरा चल्दा भने केही नरमाइलो लागेको छ ।’ मिडियामा अहिले वेनिशाले पैसा तिरेर दुबई गएको र त्यही कारणले अवार्ड पाएको भन्ने गसिप चलिरहेको छ । उनी मात्र हैन, सबै कलाकार पैसा तिरेर गएको भन्ने कुरा पनि गसिप बनेका थिए । तर वेनिशाले भने आफूले पैसा तिरेर दुबई नगएको बताइन् । ‘म पहिलेपनि दुबई गइसकेकी छु, पैसा लिएर जाने कलाकार किन पैसा तिरेर जालान् र ?’, उनले भनिन् । दुबईमा भएको अवार्ड कार्यक्रममा उनको आउँदो चलचित्र ‘ब्लाइन्ड रक्स’ को गीत पनि रिलिज भएको थियो । उक्त गीतमा पाएको प्रतिक्रियाले भने आफू मख्ख भएको वेनिशाले बताइन् ।




।