कालिकोट । जिल्लाको सान्नी त्रिवेणी गाउँपालिकाले सरकारी विद्यालयमा विद्युतीय हाजिर प्रणाली सुरुवात गरेको छ । शैक्षिक गुणस्तर सुधारका गाउँपालिकाका ११ वटा सरकारी विद्यालयमा विद्युतीय हाजिरी सुरु गरिएको गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर शाहीले बताए ।
शिक्षक र कर्मचारी नियमित विद्यालयमा उपस्थित नहुने र पछि आएर हाजिरी मिलान गरेको गुनासो आएपछि विद्युतीय हाजिरको शुरुवात गरिएको उनको भनाइ छ । ‘शिक्षक ढिलो विद्यालय जाने, छुट्टी नहुँदै बाहिरिने अनावश्यक धेरै बिदाहरुको मिलान लगायत गतिविधिलाई रोकी जवाफदेहितासहितको सुधारको लागि विद्युतीय हाजिरीको थालनी गरेको हो,’ उनले भने ।
‘स्थानीय सरकारले विद्यालय प्रशासन सुधारका लागि नियमन गर्दै शैक्षिक गुणस्तरमा अभिवृद्धि तथा प्रविधीमैत्री शैक्षिक संस्था निर्माणको लागि नयाँ कामहरुको थालनी गरेको छ ।’ गाउँपालिकाका बाँकी विद्यालयमा आगामी वर्ष विद्युतीय हाजिर प्रविधि जडान गरिने अध्यक्ष शाहीले बताए । ‘आगामी आर्थिक वर्षमा सबै गाउँपालिकाभित्रका विद्यालय र अन्य कार्यालयमा पनि विद्युतीय हाजिरको जडान गरिनेछ,’ उनले भने ।
।