सूचनाको शक्ति - The Power Of Information

        

‘पूर्वजन्मको पाप’ ठान्दा हातखुट्टा कुहियो !


रिता लम्साल । काठमाडौं । करिव ४० वर्षकी एक महिला स्वास्थ्य परीक्षणको लागि शिविरमा आइन् । उनको खुट्टाको औलाहरु झरीसकेका थिए । औंलाहरु झरेर पनि ठूला घाउँहरु भइसकेका थिए । उनी त्यहा आउँदा शिविरमा स्वास्थ्य परीक्षणका लागि आएका स्थानीयहरु उनलाई नै हेर्दै थिए । शिविरमा आउने अन्य विरामीले उनीहरुकै उनीहरुकै अछामी भाषामा उनलाई हेर्दै खासखुस कुराकानी गरे । ती महिला मेरो नजिकै आइपुगेकी थिइन् ।
अछामको पहाडी बाटोमा ‘कुहिएर झरीसकेका’ खुट्टा लिएर उपचारको लागि आइपुगेकी ती महिला थकित देखिन्थीन् । अनुहारमा समाज र घरपरिवारबाट पाएको अपहेलनाको पीडा प्रस्ट देखिन्थ्यो । डाक्टरसामु पहिलो पटक उपचारको लागि पुग्दा उनका खुसी छाएको अनुहारबाट प्रष्ट देखिन्थ्यो । यो घटना कुनै काल्पकिन कथा होइन, अछाम जिल्लामा कुष्ठरोगीको खोजीका लागि पुगेका छाला रोग विशेषज्ञ डा. रविन्द्र बास्कोटाले देखेको वास्तविकता हो । स्वास्थ्य सेवा विभागको कुष्ठरोग नियन्त्रण महाशाखाका छाला रोग विशेषज्ञ डा. रविन्द्र बास्कोटासन् २०२० सम्ममा नेपालमा कुष्ठरोग मुक्त गर्ने सरकारको योजना अनुरुप महाशाखाबाट कुष्ठरोगीको खोजी गर्न गत पुस १० गते अछाम पुगेका थिए ।
ती महिलालाई उनले कुष्ठरोगीको खोजीको लागि गत पुस १२ गते अछाम जिल्लाको चाल्सा स्वास्थ्यचौकीमा आयोजना गरिएको स्वास्थ्य शिविरमा बास्कोटाले भेटेका थिए । अछाममा शिविर संचालन हुँदा उपचारको लागि आएकी ती महिलाको अवस्थालाई सम्झदै डा बाँस्कोटाले भने, ‘शिविरमा ती महिलालाई देखेपछि थाहा भयो अछाममा कुष्ठरोगप्रतिको जनचेतनाको अवस्था कति दयनीय रहेछ भनेर । ति महिलालाई कुष्ठरोग भएको आशंकामा गाउँ र समाजले अपहेलना गर्ने रहेछन् । उनी एक्लै शिविरसम्म आइपुगेकी रहेछिन् । उनले आफू करिब एक घण्टा हिडेर स्वास्थ्य चौकीमा आइपुगेको बताइन् ।१५ वर्षअघि नै खुट्टाका दुईवटा औंला झरेको रहेछ । सुरुमा घाउँ भएपनि नदुखेपछि निको होला भनेर उपचार नै गराएनन् ।’
खुट्टाका औंलाहरु झर्न थालेपछि परिवार र समाजले कुष्ठरोग लागेको शंका ती महिलामाथि गरे । ‘विहे गर्ने उमेर पुगेकी उनलाई घर परिवार र समाजले पूर्व जन्मको पापको फल निश्किएको मान्न थाले । परिवारले कुष्ठरोगको आशंका गरे तर उपचार गराएनन् । जसको कारण उनले अहिले खुट्टाका सबै औंलाहरु गुमाइसकेकी छन्,’ बास्कोटाले भावुक हुँदै भने । घाउ भएसँगै खुट्टाका औलाहरु झरेपछि उनलाई परिवारको साथ र सहयोग चाहिन्थ्यो तर उनलाई अस्पताल त लगिएन नै घरमा बस्न पनि दिइएन । उनको अवस्थाबारे शिविरमा जानकारी पाएका डाक्टर बास्कोटाले भने, ‘उपचार र परिवारको माया अनि हेरचाह पाउनुपर्ने अवस्थामा उनी घर परिवार र समाजबाटै अपहेलित भइन् । उनका परिवारले उनलाई अस्पताल होइन घरनजिकै छुट्टै टहरा बनाएर राखिदिए ।’
परिवारका सदस्यले उनको घाउमा लगाउनका लागि परीक्षण नै नगरि स्वास्थ्य चौकीबाट मल्हम ल्याइदिए । तर त्यसले काम गरेन र उनका खुट्टाका सबै औलाहरु झरे । ‘खुट्टाका औंलाहरु झर्न सुरु गर्दा नै उनले उपचार पाएको भए उनको अरु औलाहरु झर्ने थिएनन्,’ डा बास्कोटाले बताए । डा बास्कोटाले उनको दयनीय अवस्था देखेपछि परिवारलाई पनि बोलाएर उपचार गरेपछि कुष्ठरोग निको हुने बताउँदै उनको स्वास्थ्य परीक्षण पछि कुष्ठरोगको औषधि पनि दिए । ती महिला जस्तै अर्का पएक पुरुष पनि कुष्ठरोगका कारण अंगभंग भइसकेको अवस्थामा शिविरमा आइपुगेको डा बास्कोटाले बताए । उनी हातमा घाउँ भएका कारण जचाउँन शिविरमा आएका थिए । परीक्षणको क्रममा उनमा पनि पनि कुष्ठरोग भेटिएको डा बास्कोटाले बताए ।

स्वास्थ्यकर्मी नै कुष्ठरोगको लक्षणप्रति अन्यौल
ग्रामिण क्षेत्रमा रहेका कुष्ठरोगीको खोजी गर्ने अभियान अनुरुप डाक्टर बास्कोटा काठमाडौं बाट एक साताको कार्यक्रम लिएर हिडें । पुसको दुई गते काठमाडौंबाट कपिलबस्तु, रुपन्देही हँुदै बुटवलमा पुगे । एक्टीभ केश सर्च (सक्रिय रुपमा विरामीको खोज) अभियान लिएर डा. बास्कोटाको टिमले बुटवलमा बसेर अछामको कार्यक्रमको तयारी ग¥यो । १० गते बुटवलबाट अछाममा पुगेर । अछाममा ११ गतेबाट त्यहाका स्वास्थ्य स्वयं सेविका,स्वास्थ्य कार्यकर्ता र स्वास्थ्य चौकीमा कार्यरत चिकित्सकहरुलाई कुष्ठरोगको विषयमा तालिम दिए । डा बास्कोटाले अछाममा स्वास्थ्यकर्मीहरुमा समेत कुष्ठरोगको पहिचानमा अन्यौलता रहेको बताए । ‘तालिम दिने क्रममा थाहा पायौं कतिपय स्वास्थ्यकर्मीहरु नै पनि कुष्ठरोगको विषयमा अन्यौलतामा हुनुहुदो रहेछ । उहाँहरुलाई कुष्ठरोगको विषयमा सामान्य किसिमको जानकारी मात्रै थियो ।’
उनले अछामको प्रशिक्षण कार्यक्रम सम्झदै भने, ‘लाटो फुस्रो दाग देखियो भने कुष्ठरोग लागेको हो भन्ने जानकारी उहाँहरुलाई रहेछ । शरीरमा अरु नै कारणले पनि हुने दागलाई पनि कुष्ठरोग हो कि भन्ने अनुमान थियो । तालिममा उहाँहरुले धेरै कुरा सिक्नुभयो ।’ स्वास्थ्य स्वयंसेविकाहरुलाई तालिम दिनु मात्रै उनको उदेश्य थिएन । डा बास्कोटाको टिम कुष्ठरोग नियन्त्रण महाशाखाबाट अछाममा लुकेर बसेका कुष्ठरोगीको खोजी पुगेका थिए । स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका त्यहाका मानिसहरुलाई कुष्ठरोगको विषयमा जनचेतना निकै कम थियो । चेतनाको अभावले मानिसहरु अझैपनि कुष्ठरोगलाई पूर्वजन्मको पाप भन्दै पीडा सहेर बसेका थिए । त्यहाँका स्थानिय स्वास्थ्यकर्मीले कुष्ठरोगको विषयमा स्वास्थ्य परीक्षण हुदैछ भन्दा त्यहाका मानिसहरु परीक्षण गराउन नै नआउने बताए ।
‘हामीले कुष्ठरोगीहरुको पहिचान गर्न गएतापनि सुरुमा त्यहाँका स्थानीयलाई छाला सम्बन्धि समस्या भएका मानिसहरुको पहिचान गर्ने योजना बनायौं । सोहि योजना अनुरुप स्थानीय स्वयंसेविकाहरुले छाला सम्बन्धि समस्या भएकाहरुको अवस्था बझ्नु भयो र कुष्ठरोगको लक्षण भएका मानिसहरुलाई छालारोगको उपचार भनेर हामीकहाँ रिफर गर्नुभयो,’ डा बास्कोटाले बताए । कुष्ठरोगको उपचार भनेको भए उनीहरु नआउँने भएकाले यस्तो गरिएको उनको भनाइ छ । काठमाडौंबाट डाक्टर आउनुभएको छ भन्ने म्यासेजले स्वास्थ्य परीक्षण गराउन आउनेहरुको उत्साहजनक सहभागिता रहेको थियो । अछामकै स्थानीय अस्पतालका डाक्टर सहितको डा बास्कोटाको टोलीले त्यहाँका मानिसहरुमा कुष्ठरोगको परीक्षण गरी रोगीहरुको खोजी गरेको थियो ।

२०२० मा कुष्ठरोग शुन्यमा पुर्याउनै चुनौती
डा. बास्कोटाले नेपालको ग्रामिण क्षेत्रहरुमा कुष्ठरोग सम्बन्धी जनचेतनामा कमी रहेको बताए । उनले अछामका मानिहरुमा कुष्ठरोगप्रति नकारात्मक धारणा रहेको भेटाएका हुन् । ‘अछाममा अझैपनि कुष्ठरोगको विषयमा मानिसहरुलाई थाहा नै छैन रहेछ । थाहा पाएकालाई पनि उपचार ग¥यो भने निको हुन्छ भन्ने चेतना नै छैन रहेछ । डा बास्कोटाले भने, ‘हातखुट्टा अंगभंग भएपछि मात्रै उनीहरुलाई कुष्ठरोग भएको थाहा हुन्छ, अझैपनि पूर्व जन्मको पाप हो भनेर कुष्ठरोगीलाई घर र समाजले पनि दुव्यवहार गरेको पायौं ।’ स्वास्थ्य सेवाको अवस्था ग्रामिण क्षेत्रमा पुग्न नसकेको बताए । सरकारले स्वास्थ्य सम्बन्धि कार्यक्रम गर्दै आएको भए पनि ग्रामिण क्षेत्रहरुका मानिसहरुले अझै पनि जनचेतना नपाएको उनको भनाइ छ ।
उनले भने, ‘सरकारले कुष्ठरोगको निशुल्क औषधि उपचारको व्यवस्था गरेको छ । तर अछामका स्थानीयलाई कुष्ठरोगको उपचार गर्नुपर्छ र नियमित औषधि सेवनले कुष्ठरोग पूर्ण निको हुन्छ भन्ने जानकारी नै छैन रहेछ ।’ सरकारले सन् २०२० सम्ममा नेपाललाई कुष्ठरोग मुक्त बनाउने योजना बनाएको छ । २०२० मा कुष्ठरोगीको संख्या शून्यमा झार्न किनै चुनौतीपूर्ण रहेको डा. बास्कोटाको भनाइ छ । ‘सरकारको योजना पुरा हुन निकै गाह्रो छ । सरकारले सबै जिल्लाहरुमा पुगेर उनीहरुको खोजी गरी उपचारको पहँुच दिनसक्नुपर्छ ।’ कुष्ठरोगको बारेमा चेतनाको कार्यक्रम ग्रामिण क्षेत्रमा नपुगेको उनको भनाइ छ । –लोकान्तरबाट

प्रकाशित मिति : २१ पुष २०७४, शुक्रबार १०:०३