रुपन्देही । रुपन्देहीको देवदह नगरपालिकामा गोली प्रहार गरी काठ व्यापारी वसन्त पौडेलको हत्या गरिएको छ । देवदहको खैरेनी ढेकारस्थित आफ्नो काठ मिलमा बसिरहेका पौडेलमाथि अज्ञात व्यक्तिले गोली प्रहार गरेका थिए ।
गम्भीर घाइते भएका उनको उपचारका लागि लुम्बिनी अञ्चल अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी धर्म भण्डारीले बताए । व्यापारी पौडेलको हत्या फरार रहेका गुन्डा नाइके मनोज पुनबाट भएको प्रहरीको आशंका छ ।
पुनले पनि बिदेशबाटै फोन गरेर घटनाको जिम्मेवारी लिएका छन् । पुन देवदहकै हुन् । उनले नै गत वर्ष युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या गरेका थिए । काठमाडौंमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा पनि उनकै समूहको संलग्नता देखिएको प्रहरीले जनाएको छ । शुक्रबार हत्या गरिएका पौडेल दुर्गा तिवारीकै साथी हुन् ।
एमाले निकट व्यापारी पौडेलसँग पुनले पुरानै दुश्मनी भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । घटना विहान ११ बजे भएको थियो । घटनाको अनुसन्धान भर्खरै सुरु भएकाले हत्यामा संलग्नबारे केही भन्न नसकिने रुपन्देहीका एसपी श्याम ज्ञवाली बताउँछन् । पुनको समूहले व्यापारीहरुलाई धम्काएर पैसा असुल्दै आएका छन् । अन्य व्यापारीलाई पनि तर्साएर पैसा असुल्नकै लागि उनले हत्या गरेको हुनसक्ने प्रहरी आशंका छ ।
।