सूचनाको शक्ति - The Power Of Information

        

जहाँ शिक्षकले मासिक एक हजार तलब पाउँछन्


राजेन्द्रप्रसाद पनेरु । कञ्चनपुर । विद्यालयमा पढाउने शिक्षकको तलब कति होला ? १० हजारभन्दा माथि नै होला भनेर धेरैले अनुमान लगाउन सक्छन् । तर कञ्चनपुरको पुनर्वास नगरपालिका–८, मोतियाफाँटामा रहेको नवदुर्गा आधारभूत विद्यालयका शिक्षकको तलब थाहा पाउनुभयो भने तपाईं आश्चर्यमा पर्नुहुन्छ ।
यहाँ पढाउँदै आएकी एक शिक्षिकाले मासिक रु एक हजार तलब पाउने गरेकी छिन् । विद्यालयको आन्तरिक स्रोत न्यून भएपछि विद्यालयका निजी स्रोतका शिक्षिका युगमाया शाहीले थोरै तलबमा विद्यालयमा पढाउँदै आएकी हुन् । सुकुम्बासी दलित बस्तीमा सञ्चालित विद्यालयमा अधिकांश अभिभावकको आर्थिक अवस्था दयनीय भई आन्तरिक स्रोत नभएपछि न्यून तलबमा शिक्षक राखिएको हो ।
विद्यालयको आन्तरिक स्रोत थोरै भएकाले थोरै तलबमा चित्त बुझाउनुपरेको शिक्षिका शाहीले बताइन् । भारतमा मजदुरी गर्दै आएका बस्तीका बासिन्दाले केही रकम बचाइ चन्दा संकलन गरी विद्यालय सञ्चालन हुँदै आएको छ । न्यून आयस्रोतका कारण कक्षा ५ सम्म पढाइ हुने नवदुर्गामा २ जना अस्थायी दरबन्दीमा १ जना राहतमा र १ जना निजी गरी जम्मा ४ जनाबाट विद्यालय सञ्चालन गर्नुपरेको विद्यालयका प्रधानाध्यापक लक्ष्मी अर्यालको भनाइ छ ।
विद्यालय सञ्चालन रहेको १० कट्ठा जग्गासमेत राष्ट्रिय आवास कम्पनीको नाममा दर्ता रहेको शिक्षक अभिभावक संघ अध्यक्ष वीरे बुढाले बताए । नेपाल–भारत सीमादेखि करिब २ सय मिटरभित्र रहेको विद्यालय गाउँलेहरुको पहलमा विसं २०५५ मा काठ र खरको टहरो निर्माण गरी सञ्चालन गरेका थिए । विसं २०६३ मा जिल्ला शिक्षा कार्यालय कञ्चनपुरले यसलाई मान्यता दिएको थियो ।
विद्यालयमा पर्याप्त कक्षाकोठा छैनन्, तारबार छैन, गतिलो शौचालय छैन । तर पनि सुकुम्बासी बस्तीका बालबालिकालाई साक्षर गराउन लागिपरेको समाजसेवी सोना मिजारको भनाइ छ । एक दशकअघि स्वीकृति पाएको विद्यालयले २ जना अस्थायी दरबन्दी र १ जनाको राहत कोटाबाहेक कुनै सुविधा प्राप्त गर्न सकेको छैन । न त जिल्ला शिक्षा कार्यालयले नै हेर्ने गर्छ, न त नगरपालिकाको वार्षिक योजनामा नै विद्यालय पर्ने गरेको छ । रासस

प्रकाशित मिति : २१ पुष २०७४, शुक्रबार ०६:१९