सूचनाको शक्ति - The Power Of Information

        

सडकको धुलो उठाउँदै नेपालगन्ज उपमहानगर


बाँके । नेपालगन्ज उपमहानगरपालिकाले सडकको धुलो पनि सफाई गर्दैछ । धुलो उडेर हैरानी भएपछि मुख्य सडकहरुमा सरसफाईकर्मी नै परिचालित गरि धुलो उठाइँदैछ । साप्ताहिक सरसफाई हुँदै आएको नेपालगन्जका सडक किनारमा जम्मा भएको धुलो उठाउन लागिएको हो । धुलोका कारण सडक फोहर हुनुका साथै मानव स्वाथ्यलाई समेत असर पु¥याउँदै आएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ ले आफनो क्षेत्रका सम्पूर्ण सडकमा धुलो उठाईन शुरु गरिसकिएकोमा अब उपमहानगरपालिकाको कार्यालयले पनि सुर्खेतरोड लगायतका सडकको धुलो उठाउन लागेको हो । दुई दिनभित्रै सुर्खेत रोडलगायतका सडकहरुमा धुलो उठाइने तयारी गरिएको वातावरण तथा सरसफाई इन्जिनियर प्रकाश डिसीले जानकारी दिए ।


वडा नं. २ ले केस नामक निजी संस्थासँगको सहकार्यमा ४ दिनसम्म सडकको धुलो उठायो । विपी चौक, धम्वोझी, घरबारी टोल, न्यूरोड, सेतु विक चौक हुँदै बसपार्क रोड, कारकाँदो चौक सम्मको सडकको धुलो उठाउने कार्य गरिएको केसका अध्यक्ष बालिकादेवी रावतले जानकारी दिए । अध्यक्ष रावतका अनुसार ५ जना मजदुर सडकमा धुलो बढार्ने, एउटा ट्रयाक्टरमा धुलो उठाउने गरि खटाइएको थियो ।
वडा नं. २ सहितका केही वडामा केसले फोहर संकलन गर्दै आएको थियो । सडक सफा गरिएपछि जाथाभावी फोहर फाल्नेलाई कानूनी कारवाहीको दायरामा ल्याइने गरी सरसफाई अभियान शुरु गरिएको वडा अध्यक्ष सुनिलसिंह हमालले जानकारी दिए । वृहत योजनासहितको सरसफाई शुरु गरिने तयारी गरिएको पनि हमालले जानकारी दिए ।

प्रकाशित मिति : २१ पुष २०७४, शुक्रबार ०६:११