सूचनाको शक्ति - The Power Of Information

        

चैत १७ बाट धनगढी प्रिमियर लिग, विजेतालाई २५ लाख


काठमाडौं । धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट आगामी चैत १७ गतेबाट हुने भएको छ । माघ ५ गतेबाट गर्ने तयारी भए पनि राष्ट्रिय टोली व्यस्त रहने भएकाले प्रतियोगिता केही पछि सार्नु परेको आयोजक धनगढी क्रिकेट एकेडेमीले जनाएको छ ।
बैशाख १ गतेसम्म सञ्चालन हुने डीपीएल २ खेल्ने खेलाडीहरुको छनोट अक्सनबाट गरिनेछ । फागुन ५ मा अक्सन हुनेछ । यसका लागि खेलाडीहरुले पुस २० बाट माघ २५ गतेसम्म आफ्नो नाम दर्ता गरिसक्नु पर्नेछ । अक्सन अघि डीपीएल खेल्ने टिम र रणनीतिक खेलाडी छनोट गरिने आयोजकले जनाएको छ । कप्तान छनोट जिम्मा भने फ्रेन्चाइज टिमलाई नै दिइनेछ ।
खेलाडीहरुलाई तीन समूहमा बाँडिनेछ । कम्तिमा १५ अन्तराष्ट्रिय खेल खेलेका तथा ३ वर्षदेखि राष्ट्रिय टोलीमा रहेका खेलाडीहरु समूह ए मा पर्नेछन् भने बाँकी राष्ट्रिय, समूह समूह खेलेका वा क्याम्पमा परेका खेलाडी समूह बीमा हुनेछन् । समूह सीमा भने अनक्याप खेलाडीहरुलाई राखिनेछ । हरेक फ्रेन्चाइज क्लबले न्युनतम रुपमा समूह एका दुई, बीका तीन र सीका ५ खेलाडी राख्नुपर्नेछ ।
हरेक टिममा १५ खेलाडी हुनेछन्, जसमा दुई विदेशी र धनगढीमा हुने ट्यालेन्ट हन्टबाट सुदूरपश्चिमका एक खेलाडीलाई अनिवार्य समावेश गर्नु पर्नेछ । विजेताले २५ लाख रुपैयाँ पाउनेछ भने उपविजेताले १० लाख, तेस्रो हुनेले ३ र चौथोले २ लाख पाउनेछ । विजेताको रकम गतवर्षभन्दा १० लाख वढी हो । गत वर्ष विजेतालाई १५ लाख र उपविजेतालाई ७ लाख दिइएको थियो । यस्तै म्यान अफ दि म्याचलाई १० हजार र म्यान अफ दि सिरिजलाई मोटरसाइकल पुरस्कार छ ।
प्रतियोगिताका उत्कृष्ट ब्याट्सम्यान र बलरले पनि पुरस्कार पाउनेछन् । आयोजकका अनुसार कुल परस्कार राशी ५० लाख रुपैयाँ छ । आयोजकले यस पटकबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय क्रिकेटमा सहभागी एक पूर्वखेलाडीलाई धनगढी क्रिकेट सम्मान र राष्ट्रिय क्रिकेटमा महत्वपूर्ण योगदान दिने एक जनालाई ‘अर्जुन खड्का स्मृति सम्मान स्वरुप १र१ लाख दिने पनि बताएको छ । प्रतियोगिताको कुल लागत करिव ३ करोड रहेको धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले बताए ।

प्रतियोगिताका लागि खेलाडी दर्ता सुरू
डीपीएलका लागि खेलाडी दर्ता बिहीबारदेखि सुरू भएको छ । राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान तथा डीपीएल टोली सीवाइसी अत्तरीयाका कप्तान ज्ञानेन्द्र मल्ले आफ्नो नाम दर्ता गरी खेलाडी दर्ता प्रक्रियाको सुरूवात गरे । खेलाडी दर्ताका लागि आयोजक धनगढी क्रिकेट एकेडेमी र इसेवाबीच सम्झौता भएको छ । सम्झौताअनुसार प्रतियोगितामा नाम दर्ता गर्न खेलाडीले dpl.esewa.com.np बाट बारकोड लिएर आफ्नो नाम www.dplofficial.com मा दर्ता गर्नुपर्नेछ ।
धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाही र ईसेवाका सीईओ अक्सर अलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यस सिजनका लागि खेलाडी दर्ता माघ २५ सम्म गर्न सकिनेछ । नाम दर्ता भएका खेलाडीहरूलाई फागुन ५ गते हुने अक्सनमा समावेश गरिनेछ । प्रत्येक टिममा एकजना रणनीतिक खेलाडी रहनेछन् भने उनीहरू कप्तान नै हुनुनपर्ने आयोजकले जनाएको छ । प्रतियोगिताका खेल हेर्न दर्शकका लागि लिग चरणमा ५०, प्लेअफमा ७० र फाइनलमा १०० रूपैयाँ टिकट दर तोकिएको छ । टिकट ईसेवाबाट पनि पाउन सकिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २० पुष २०७४, बिहीबार ०९:५०