सूचनाको शक्ति - The Power Of Information

        

प्रधानमन्त्री नबन्दै ओलीलाई प्रधानमन्त्री सरह सुरक्षा


काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वाम गठबन्धन बहुमतकले विजयी भएसँगै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भावि प्रधान मन्त्रीको रुपमा हेर्न थालिएको छ । नेपाल प्रहरीले समेत अहिले अध्यक्ष ओलीलाई प्रधान मन्त्री सरहको सुरक्षा प्रदान गरेको छ ।
प्रहरी प्रधान कार्यालय नक्सालले केहीदिन अघिमात्र अध्यक्ष ओलीको सुरक्षाको लागि प्रहरी नायव उपरीक्षक (डिएसपी)को कमान्डमा सुरक्षा व्यवस्था मिलाइएको हो । यसअघि भने अध्यक्ष ओलीका लागि प्रहरी निरीक्षकको कमान्डमा सुरक्षा दिँदै आएको थियो ।
प्रहरी प्रधान कार्यालय नक्सालले ओलीलको सुरक्षाका लागि प्रहरी निरीक्षक निर्मल पनेरुको ठाँउमा डिएसपी सानुराम भट्टराईलाई पठाइएको हो । प्रधान मन्त्री शेरबहादुर देउवाको सुरक्षामा पनि डिएसपी कमान्डमा नै हुँदै आएको छ । प्रधान मन्त्रीको सुरक्षाको कमान्ड डिएसपी कोमल शाहले लिइरहेका छन् ।
अध्यक्ष ओलीको सुरक्षामा अहिले नेपाल प्रहरीका १० सुरक्षाकर्मी खटिएका छन् । सशस्त्र प्रहरीको तर्फबाट भने प्रहरी नायव निरीक्षकको कमान्डमा २० जना सुरक्षाकर्मी तैनाथ गरेका छन् । भावि प्रधानमन्त्रीको रुपमा हेरिएको र सुरक्षा चुनौती बढेकाले डिएसपीको कमान्डमा प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका एक अधिकृतले बताए ।

प्रकाशित मिति : २० पुष २०७४, बिहीबार ०९:३५